|

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताललाई २ बेडको अस्पताल बनाउने प्रक्रियामा लागेको बताएका छन्। उनका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालको विकासको लागि करिब ६ अर्बको टेन्डर प्रक्रिया अगाडि बढेको छ।

मंगलबार १६ औँ गणतन्त्र दिवसका अवसरमा राप्ती प्रादेशिक अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गर्दै उनले दाङलाई मात्र नभई लुम्बिनी प्रदेशलाई नै कसरी राम्रो बनाउने भन्ने सोचमा रहेको पनि बताए।

उनले प्रदेशका २ वटा प्रादेशिक अस्पताल रहेको भन्दै यी अस्पताल अरु अस्पतालहरूको स्रोत केन्द्र रहेको समेत बताए। उनले भने, ‘एउटा तुलसीपुरमा रहेको छ, भने अर्को बुटवलमा प्रादेशिक अस्पताल रहेको छ। रणनीतिक हिसाबले भन्नु पर्दा यी अरु अस्पतालका स्रोत केन्द्र हुन्। त्यसैले प्रादेशिक अस्पताललाई २ सय बेडको सञ्चालन गर्नको लागि हामी तयार छौँ। यसको सबै प्रक्रिया पुर्‍याएर आउने क्याबिनेटमा पेश गर्न सचिवज्यूलाई निर्देशन पनि दिन्छु।’

उनले राप्ती प्रादेशिक अस्पताल दाङका मात्र नभइ कर्णाली प्रदेशको बिरामीहरू पनि यहाँ उपचार गर्न आउने भएकाले यसलाई अझ राम्रो बनाउन सबैको ध्यान केन्द्रित हुनुपर्ने समेत धारणा व्यक्त गरे।  

तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताललाई पनि सुविधा सम्पन्न बनाउनको लागि के के कुराहरूको आवश्यक पर्छ, त्यो सबै गर्न आफूहरू तयार रहेको समेत उनका भनाइ छ।

उनले भने, ‘हामी अस्पताललाई सुविधा सम्पन्न बनाउनको लागि  तयार रहेका छौँ तर अस्पताल व्यवस्थापन समितिले पनि केही कुराहरूको ख्याल गर्नु पर्छ। आवश्यक जनशक्ति राख्नु पर्छ तर यहाँ विशिष्ट श्रेणीका डाक्टरहरूलाई कसरी ल्याउने भन्ने कुरामा हामीले पनि सोचेका छौँ। अनावश्यक खर्च कटौती गर्दै लैजानु पर्छ।’ 

उनले यस अस्पताललाई सबै कुरामा सुविधा सम्पन्न गरेर  यहाँका बिरामीहरू उपचार गर्न नेपालगन्ज , भारतको लखनउ सम्म जाने गरेको भन्दै त्यो विस्तारै बन्द हुनेमा आफूले विश्वास लिएको समेत उल्लेख गरे। उनले अबको २ वर्षभित्रमा यस अस्पतालमा विशिष्ट श्रेणीका डाक्टरहरू ल्याएर थप सेवा अगाडि बढाउने समेत प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले राप्ती प्रादेशिक अस्पतालको अवस्थाबारे जानकार रहेको बताए।

उनले भने, ‘तुलसीपुरमा रहेको प्रादेशिक अस्पताललाई स्तरोन्नति गरेर २ सय बेडको सञ्चालन गर्नुपर्नेछ। यसको यहाँ आवश्यकता पनि छ। हामीले त्यसको आवश्यकता बोध हामीले गरेका छौँ। यसको लागि प्रदेश सरकार गम्भिर भएको छ।’

प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफूलाई राप्ती प्रादेशिक अस्पतालाई छिट्टोभन्दा छिट्टो २ सय बेडको लागि प्रक्रिया अगाडि बढाउन निर्देशन भएको समेत बताए। उनले मन्त्रालयबाट काम अगाडि बढाएको समेत बताए।

जिल्लाबाट प्रदेशमा मुख्यमन्त्रीसहित ३ जना मन्त्री र प्रदेशको योजना आयोगको उपाध्यक्ष पनि यहीबाट भएको हुँदा यहाँका नागरिकहरूको अपेक्षा स्वास्थ्य क्षेत्र र अन्य विकासका क्षेत्रमा रहेको बताए।

उनले भने, ‘मुख्यमन्त्रीज्यूले पनि हामीलाई बेला बेला यहाँको मात्र नभइ प्रदेशको विकासका लागि निर्देशन दिनु भएको छ। हामीहरूको पालामा यस क्षेत्रको लागि मात्र नभइ प्रदेशका केही उदाहरणीय काम गरेर देखाऊ भन्ने हामीलाई निर्देशन छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.