|

विराटनगर : फागुन १७ गते प्रदेश १ ले ‘सरप्राइज गिफ्ट’ को रूपमा कोशी नाम पायो। प्रदेशको नाम पहिचानको आधारमा हुनुपर्ने माग राख्दै बाहिर नाराबाजी हुँदै गर्दा प्रदेशसभा भित्र नामको विषयमा छलफल चलिरहेको थियो। लामो छलफलपछि प्रदेशले कोशी नाम पाउने पक्का भयो।

अर्थात् बहुमतका साथ कोशी नाम पारित हुने भएपछि जसपाकी एक्ली सांसद निर्मला लिम्बू रोष्ट्रममा भक्कानिएकी थिइन्।

संसद् बैठकमा बोल्दै उनले भनेकी थिइन्‚ ‘बहुमतको दम्भका अघि म एक्ली सांसदलाई सती पठाएझैं भयो। पहिचानको आवाजको हत्या भयो।’ त्यसो त बोल्दाबोल्दै उनको गला अवरुद्ध भएको थियो। उनले लिम्बुवान जाति नभएको समेत बताउँदै प्रदेशको नाम किरात लिम्बुवान राख्दा सबैलाई न्याय हुने बताएकी थिइन्।
उनले पहिचान विरोधीहरूको बहुमत भएको पीडाले आफू द्रवित बनेको भन्दै उनले भनेकी थिइन्,‘पहिचान खोलानालाले मागेको थिएन। ती खोलानाला जोगाउने काम नागरिकले गरे। पहिचान तिनैले मागे तर जातीय नाममा न्यायको आवाज दबाइयो।’

अहिले उनले त्यो समय दिएको अभिव्यक्ति भने आलोचित हुन पुगेको छ। रोष्ट्रममा उभिएर नक्कली रुवाइ गरेको भन्दै उनको आलोचनाको हुन थालेको छ।

धरानका विद्यार्थी नेता सागर चेम्जोङले कार्यकर्ता विरोधका साथ सडकमा उत्रिदा नैतिकताको आधारमा मन्त्री लिम्बूले सरकारलाई दिएको समर्थन फिर्ता दिनुपर्ने धारणा राख्छन्। उनी आबद्ध दलका नेता कार्यकर्ताले नै उनीप्रति असन्तुष्टि जनाएका छन्। पार्टी अध्यक्ष समक्ष समेत उनले कुनै खालको सल्लाह सुझाव राख्न नचाहेको जसपा एक नेताले बताए। उनले सत्ता बाहेक अरू केही नदेखेको समेत आरोप लगाए।

सरकारमा नेता सडकमा कार्यकर्ता
मन्त्री लिम्बू सरकारमा हुँदा कार्यकर्ता भने प्रदेशको नामविरुद्ध सडक आन्दोलनमा उत्रिएका छन्। आइतबार विराटनगरमा भएको आन्दोलनमा उनको दलका तीनजना कार्यकर्ता समेत पक्राउ परेका छन्।

आन्दोलनका क्रममा प्रदेशसभा वरपरका सरकारी कार्यालय, अस्पताल, औषधि पसल साथै लिम्बूले सम्हालेको स्वास्थ्य मन्त्रालय समेत तोडफोड भएको थियो। 

उनले प्रदेशसभा बैठकमा सम्बोधन गर्दै आफू सरकारपक्ष र आन्दोलनकारी पक्षबाट नै निशानीमा परेको भन्दै सुरक्षाको माग समेत राखेकी थिइन्। सडकमा कार्यकर्ता हुँदा सरकार छोड्न नचाहेको भन्दै उनलाई वंश गद्दारको संज्ञा समेत दिइएको छ।

यो विषयमा टेलिफोनमार्फत कुराकानी गर्न खोज्दा उनी सम्पर्क हुन सकेन।

  सरकारमा बस्ने या छोड्ने निर्णय बैठकको 
जसपाका पूर्व सांसद एवं पूर्व स्वास्थ्यमन्त्री जयराम यादवले जनता समाजवादी पार्टी देशको उत्पीडित राष्ट्रियताको हक अधिकारका लागि स्थापित भएको पार्टी रहेको बताए।

संघीयता, धर्मनिरिपेक्षता, समानुपातिक लगायतका मुद्दाले पूर्णता पाउनुपर्छ भन्ने रहेको बताउँदै उनले कोशी प्रदेशको नाममा सरकारलाई दिएको समर्थन बैठकले टुंगो लगाउने बताए।

सरकारलाई दिइएको समर्थनको विषयमा पार्टीपंक्तिबाट पनि धेरै सुझाव आएको बताउँदै उनले पार्टीको प्रदेश कमिटीको बैठक बसेपछि निष्कर्ष आउने बताए।
मन्त्रालय तोडफोडको विषय संयोगको कुरा रहेको बताउँदै उनले भने, ‘स्वास्थ्य मन्त्रालय तोडफोड हुनु निषेधाज्ञाभन्दा बाहिर त्यो स्थान परेको भएर पनि हुनसक्छ, यो मेरो व्यक्तिगत विचारमा संयोगवश तोडफोड भएको हुनसक्छ।’ छेवैमा सरकारी कार्यालय भएकाले त्यस्तो भएको हुनसक्ने बताउँदै उनले सरकारी भवन अगाडि भएकाले पनि आन्दोलनकारीले क्षति पुर्‍याएको हुनसक्ने उनको भनाइ थियो। उनले भने, ‘मन्त्रीलाई नै निशाना बनाउनुपर्छ भन्ने हिसाबले गरेको होइन, त्यो उचित होइन।’
तपाईंहरूको दल सरकारमा र कार्यकर्ता सडकमा उत्रिएको अवस्थामा यसलाई कसरी लिनुभएको छ ? भन्ने प्रश्नमा उनले  मन्त्रीले पार्टीलाई स्पष्ट धारणा दिनुपर्ने बताए। ‘उहाँ सरकारमा बस्दा राम्रो या नराम्रो यो उहाँले स्वविवेक प्रयोग गर्नुपर्ने हो’, उनले भने, ‘हाम्रो पार्टी पहिचानको मुद्दा बोकेको दल हो। यस्तो अवस्थामा सरकारमा बस्न उचित छ कि छैन भनेर उहाँले रिपोर्टिङ दिनुपर्‍यो। हामीले सरकारबाट निस्किनु भन्नु लोकतन्त्रको खिलाप हुन्छ।’ वातावरण भए सरकारमा बस्नु राम्रो र नभए स्वविवेक प्रयोग गर्नुपर्ने उनले बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.