|

काठमाडौं : फ्रान्स र सर्बिया पठाइदिने नाममा ५२ लाख रुपैयाँभन्दा बढी रकम ठगी गर्ने दुईजना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका–१३ सल्लाघारी बस्ने ५० वर्षीय सुरेशकुमार पाख्रिन र सर्लाहीको हरिवन नगरपालिका–५ घर भई काठमाडौं बस्ने निरोज बुढाथोकी पक्राउ परेका हुन्।​

पाख्रिनले वैदेशिक रोजगारीका लागि फ्रान्स पठाइदिन्छु भनी फूर्पा शेर्पासमेत चार जनाबाट ४० लाख असुलेको पाइएको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

उनले प्रतिव्यक्ति रु १७ लाख लाग्ने र फ्रान्स पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लागेपछि त्यहाँबाट मासिक एक लाखभन्दा बढी तलब हुने प्रलोभनमा पारी पटकपटक गरी पीडितबाट ४० लाख लिएको खुलेको प्रहरी उपरीक्षक केसीले बताए।

पैसा लिएपछि सम्पर्कविहीन भएका उनलाई वैदेशिक रोजगार विभागबाट खोजीका लागि पत्राचार भएअनुसार खोजतलास गर्नेक्रममा ललितपुरको पुल्चोकबाट मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ। 

यस्तै सर्लाहीका बुढाथोकीले प्रमोद सिटौलासमेत चार जनालाई वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु, त्यसका लागि प्रतिव्यक्ति पाँच लाख ५० हजार लाग्ने भनी रकम उठाएका थिए। पीडितबाट उनले १२ लाख लिएर फरार भएका प्रहरीको दाबी ५। उनलाई काठमाडौंको सिनामंगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि मंगलबार नैवैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.