तनहुँ : व्यास नगरपालिका–५ चिन्तुटारका दरै समुदायले मंगलबार २२ गाउँका मानिस भेला गरेर आगोको पूजा गरेको छ।
प्रत्येक वर्ष वैशाख पूर्णिमापछि पर्ने दशमीमा विशेष पर्वका रूपमा आगोको पूजा गर्ने प्रचलन रहेको व्यास–५ चिन्तुटारका दरै पुजारी ६८ वर्षीय पदमबहादुरले जानकारी दिए। उनअनुसार यस दिन गिदरी जातको काठ मन्थन गरी आगो सल्काएर त्यो आगोलाई अक्षता, फूलपातीले पूजा गरिन्छ। त्यसपछि सबैले आगोलाई घरमा लैजाने प्रचलन छ। आगो पूजा गरेपछि चामलको पिठोबाट बनाइएको विशेष परिकार ‘डेगुवा’ खाने र नाचगान गरी मनोरञ्जन गर्ने चलन छ।
‘पूजा गरिएको आगोलाई जाँड र डेगुवा चढाउनै पर्ने मान्यता छ’, पुजारी दरैले भने, ‘आगोको विधिपूर्वक पूजा नगरे घरमा चट्याङ र आगलागी हुन्छ भन्ने विश्वास छ।’ आगोको पूजा गरी घरमा लैजाने चलन देख्दा अचम्म लागेको चिन्तुटार घर भई हाल व्यास–१ दमौलीस्थित आदिकवि भानुभक्त क्याम्पसमा स्नातक अध्ययनरत २३ वर्षीया सुनिता दरैले बताइन्। ‘यसरी बृहत् भेला गरेर आगोको पूजा गरेको यसअघि थाहा पाएको थिइनँ’, सुनिताले भनिन्, ‘यसरी पूजा गर्दा हाम्रो संस्कृति पनि रोचक रहेछ भन्ने अनुभव भएको छ।’
आगोको पूजा गर्न आफूहरूले तनहुँको शेरा, दुम्सी, साँगे, पतेनी, बैरेनी, फराकचौर, सिमलटार, निर्वु, सिसाघाट, अत्रौली, साँखर, भादगाउँलगायत २२ स्थानका दरै समुदायलाई निम्तो दिएको दरै समाज सुधार समितिका अध्यक्ष शर्मिला दरैले बताइन्। ‘यसरी भेला गरी पूजा गरेपछि भावी पुस्ताले पनि जातीय संस्कृति बुझ्छन् भन्ने हाम्रो सोचाइ हो’, व्यास–५ चिन्तुटारका दरै अगुवा ६२ वर्षीय मीनबहादुरले भने।
‘युवा पुस्ताले संस्कृति बिर्सिंदै गएकाले पनि यसपटक सबै दरै बस्तीलाई निम्ता गरेका हौँ’, समिति अध्यक्ष दरैले भनिन्, ‘यस्तो पूजाले संस्कृतिलाई संरक्षण गर्न सहयोग पुर्याउने ठानेका छौँ।’ आगोको पूजा कार्यक्रममा व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, दरै सुधार समाज तनहुँका अध्यक्ष ठाकुर दरैलगायतका सहभागी हुँदा संस्कृति संरक्षणमा टेवा पुगेको आफूले ठानेको उनले बताइन्।
नदीमा माछा मारेर जीविका चलाउँदै आएका दरैको तनहुँ, गोरखा, चितवन, धादिङ र नवलपरासीमा बाहुल्य छ । विसं २०६८ अनुसार मुलुकमा दरैको जनसङ्ख्या १७ हजार ८७९ छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।