|

विराटनगर : विराटनगरको  कस्टम यार्डसम्म रेल आउने भएको छ। विसं २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम यार्डसम्म बिहीबार रेल आउने भएको हो। 

रेलको लिक परीक्षण सफल भएको ४ वर्ष पुग्दा पनि भारतको बथनाहाबाट नेपालको कटहरीसम्म कार्गो रेल संचालन हुन  सकेको थिएन।

रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी गाउँपालिका-१ मा लगभग ६ बिगाहा जग्गाको मुआब्जा विवादका कारण केही स्थानको काम भने रोकिएको छ। बथनाहादेखि विराटनगरको एकीकृत भन्सार जाँच चौकी (आइसिपी)सम्मको ७ दशमलव ६ किलोमिटर रेलमार्ग भने सञ्चालनका लागि तयार छ।

बथनाहा रेलवे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कष्टम यार्डसम्मको ७ किलोमिटर दुरीमा पहिलो पटक विसं २०७६ कात्तिकमा रेलवे लिक परीक्षण गरिएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणअघि यस विषयमा भन्सार र भारतीय रेलवेका अधिकारीले विराटनगरका उद्योगी व्यवसायीसँग छलफल गरेका छन्। 

केही दिनअघि विराटनगर आएका भारतीय अधिकारीहरुले उद्योग संगठन मोरङमा छलफल गरेका थिए। छलफलमा नेपाली उद्योगीहरुले विगत लामो समयदेखि कार्गो रेल कहिले आउँछ भनेर पर्खिएको बताएका थिए।

उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष सुयश प्याकुरेलले रेलमा औद्योगिक कच्चा पदार्थ, फलामका बिलेटलगायत सामग्री नेपाल आउने बताए। उनले एक औपचारिक कार्यक्रमबीच कार्गोको स्वागतमा नेपाली उद्योगी/व्यवसायी बुधनगरस्थित कस्टम यार्ड पुग्ने बताए।

कार्गो रेलले ३५ प्रतिशत भाडा सस्तो हुने

विराटनगरका उद्योगीहरु भने कार्गो रेल सञ्चालन हुने हो भने आफूहरुलाई ढुवानीवापतको भाडा ३५ प्रतिशतसम्म सस्तो पर्न जाने दाबी गर्छन्। 

विराटनगर भन्सारमा दैनिक ३ सय ट्रक अर्थात् झण्डै ४ हजार ५ सय टन मालवस्तु आयात हुने गरेको छ। जसमध्ये ८० प्रतिशत मालवस्तु भारतबाट र २० प्रतिशत मालवस्तु तेस्रो मुलुकबाट आउने गरेको छ।

कार्गो रेल संचालन आउने हो भने तेस्रो मुलुकबाट आउने सबै र भारतबाट आउने ६० प्रतिशत मालवस्तु रेल्वेमार्फत आउने अनौपचारिक प्रक्षेपण रहेको उद्योग संगठन मोरङका कार्यकारी निर्देशक चुडामणि भट्टराई बताउँछन्।

ट्रकबाट आएका मालवस्तुको प्रतिट्रक (१५ टन)को भारु ४० हजार रुपैयाँ ढुवानी चार्ज लाग्ने गरेको छ। रेलमार्फत आउने हो भने त्यो ढुवानी चार्ज घटेर भारु २९ हजारमै आइपुग्ने र १५ हजार भारु बचत हुने उनीहरुको दाबी छ।

एकीकृत भन्सार जाँच चौकीभन्दा करिब ५ किलोमिटर भारततर्फ रहेको बथनाहा भन्ने स्थानसम्म हाल रेल कार्गोमार्फत नेपाली उद्योगी व्यवसायीले बल्क कार्गो ल्याउने गरेका छन्। 

बथनाहासम्म आएको रेल कार्गोको लोड/अनलोड, पुनः ट्रकमा लोड गरि भन्सारसम्म ल्याउनुपर्ने र जाँचपास गरि गन्तब्यतर्फ जाने गरेका छन्। विसं २०६८ देखि सुरु भएको बथनाहा–कटहरी रेलमार्गको निर्माण विसं २०७३ सालमा सम्पन्न भइसक्नुपर्ने थियो ।

तर मुआब्जा निर्धारण समितिले गरेको प्रतिकट्ठा २ लाखको दरले मुआब्जा दिने निर्णयप्रति कटहरीका जग्गाधनीहरूले असहमति जनाउँदै आएका छन्।

अदालतले ८ लाखका दरले मुआब्जा दिनुपर्ने फैसला गरे पनि सरकारले मुआब्जा वितरणमा ढिलाइ गरेपछि स्थानीय केही जग्गाधनीहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.