विराटनगर : कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमा कृषि क्षेत्रलाई पहिलो नम्बरमा राखेको छ।
आर्थिक मामिला तथा योजनामन्त्रीको समेत जिम्मा लिएका प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाको बुधबारको बैठकमा प्राथमिकता र सिद्धान्त पेश गर्दै कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताएका हुन्।
उनले कृषि क्षेत्रलाई प्रदेशको आर्थिक क्रियाकलापको मेरुदण्डको रुपमा विकास गर्ने पनि उल्लेख गरेका छन्।
‘कृषि तथा पशुपक्षीजन्य वस्तुको उत्पादन वृद्धि गर्न उन्नत बीउ, बेर्ना र पशु नश्लको सहज उपलब्धता सुनिश्चित गरिनेछ। सहकारी तथा निजी क्षेत्रको सहकार्यमा कृषि उत्पादनको मूल्य श्रृंखलालाई अभिवृद्धि गरी औद्योगिकीकरणतर्फ जोड्ने कार्यक्रमहरु सञ्चालन गरिनेछ। सुरक्षित कृषि उत्पादनको लागि प्राङ्गारिक मल तथा जैविक विषादीको उत्पादनलाई प्रवर्द्धन गर्दै विषादी न्यूनीकरण र रासायनिक मलमाथिको निर्भरतालाई क्रमशः कम गर्दै लगिनेछ। युवाहरुलाई रोजगारी र आयस्तर सुधारका अवसर सिर्जना गर्न कृषि उद्यमसँग जोड्ने र स्वरोजगार बनाइनेछ। रैथाने बालीहरुको प्रवर्द्धनमा जोड दिइनेछ,’ उनले प्रस्तुत गरेको प्राथमिकतामा उल्लेख छ।
‘आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछि परेका महिला, दलित‚ आदिवासी‚ जनजाति, मधेशी, थारु, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित तथा आर्थिक रूपले विपन्न खस आर्यसहित आम नागरिकको विकास र समुन्नतिको अपेक्षालाई सम्बोधन हुने गरी जनतामा संघीय शासनप्रति भरोसा र भविष्यप्रति आशा जगाउनेतर्फ बजेटका सिद्धान्त र प्राथमिकता तय गरेको छु,’ उनले भनेका छन्।
औद्योगिक क्षेत्रको विकास र प्रवर्द्धनका लागि उद्यमशीलता विकासका माध्यमबाट स्थानीय कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग स्थापना र संचालनमा प्रोत्साहन गर्ने, स्थानीय तह र निजी क्षेत्रसँगको समन्वयमा स्थानीय उत्पादनलाई प्रवर्द्धन र ब्राण्डिङ गरी स्थानीय स्तरको आर्थिक वृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने उल्लेख छ।
प्राथमिकताको तेस्रो नम्बरमा रहेको पर्यटन क्षेत्रमा विराटनगर विमानस्थलबाट कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा रहेका विमानस्थलहरुमा हवाई सेवा विस्तारका लागि समन्वय र सहकार्य गर्ने विषय उल्लेख छ।
प्रदेशको मुख्य प्रशासनिक संरचनाहरुको निर्माण कार्य आरम्भ गर्ने, प्रादेशिक कार्यालयहरुको भौतिक संरचनाहरुको निर्माण कार्यलाई प्राथमिकताका साथ सञ्चालन गरिने, बहुवर्षीय आयोजनाहरु निर्धारित समयभित्रै सम्पन्न गर्नका लागि आवश्यक र पर्याप्त रकम विनियोजन गर्ने विषय पनि समेटिएको छ।
उनले नदी कटान, डुबान तथा बाढी पहिरो नियन्त्रण र रोकथाम गर्ने प्रयास गर्ने तथा प्रदेशका सबै ठाउँमा विद्युत् पहुँच पुर्याउन आवश्यक समन्वय र सहजीकरण गर्ने पनि प्राथमिकतामा उल्लेख छ।
आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्दै प्रदेशको सबै जिल्लामा रहेका स्वास्थ्य पूर्वाधारको स्तरोन्नति एवं विकास र गर्ने पनि प्राथमिकतामा रहेका छन्।
सहकारीहरुको प्रभावकारी अनुगमन, नियमन तथा क्षमता अभिवृद्धि गरि सहकारी क्षेत्रमा विश्वसनीय वातावरण तयार गर्ने, दिगो वन व्यवस्थापनका सिद्धान्तअनुसार समुदायमा आधारित वन तथा सरकारद्वारा व्यवस्थित वनक्षेत्रहरुको उत्पादकत्व वृद्धिमा जोड दिने पनि प्राथमिकतामा उल्लेख छ।
सिद्धान्तको रुपमा मुख्यमन्त्री कार्कीले प्रदेश स्तरमा सरकारी, निजी र सहकारी क्षेत्रको लगानी बृद्धि गरी अर्थतन्त्रको विकास गर्नेतर्फ आगामी आर्थिक वर्षको बजेट केन्द्रित हुने उल्लेख गरेका छन्।
संघीय लोकतान्त्रिक शासन व्यवस्थालाई थप सुदृढ बनाउन साधन स्रोतको परिचालनमा जोड दिने, तीनै तहका सरकारबीचको समन्वय र सहकार्यमा जोड दिइने पनि उल्लेख छ।
प्रदेशमा लगानीमैत्री वातावरणका लागि प्रदेश सरकारको भूमिका उत्प्रेरक, सहजकारी र नियमनकारी बनाउँदै अर्थतन्त्रमा निजी क्षेत्रलाई विकासको संवाहकको रुपमा प्रवर्द्धन गर्ने, भौगोलिक अवस्थिति तथा आन्तरिक बसाइँसराईलाई ध्यानमा राखी आयोजनाहरु छनौट गर्ने, प्राथमिकता प्राप्त क्षेत्रमा साधन स्रोतको अभाव हुन नदिने र वित्तीय अनुशासन कायम गर्न जोड दिने सिद्धान्तमा उल्लेख छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।