|
फाइल तस्वीर

काठमाडौं : सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका हालसम्म १२१ वटा उजुरी विचाराधीन अवस्थामा रहेको देखिएको छ। विसं २०७६ वैशाख ३ गतेयता दर्ता भएका यी उजुरी लेखा समितिमा छानबिन र छलफल हुन नसकेका हुन्।

लेखा समितिको आज (बुधबार) को बैठकमा समितिका सचिव एकराम गिरीले नयाँ सदस्य आएपछि थप एउटासहित हालसम्म १२१ उजुरी फर्छौट हुन बाँकी रहेको जानकारी गराए।

नयाँ संसद आएपछि गठन भएको लेखा समितिमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको शेयर स्वामित्व विवादसम्बन्धी उजुरी परेको छ।

समितिको सभापतित्व गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समिति अविछिन्न उत्तराधिकारीवाला संस्थाका रुपमा रहने भएकाले नयाँ सदस्य नियुक्त हुनुभन्दा अघिका उजुरीबारे पनि छलफल र छानबिन गरिनुपर्ने बताए।

समिति सदस्यहरु राजन केसी, अमरेशकुमार सिंह, रामकृष्ण यादव, गोकुलप्रसाद बास्कोटा, रामकृष्ण यादव, योगेशकुमार भट्टराई, विक्रम पाण्डे, जनार्दन शर्मालगायतले समितिमा परेका सबै उजुरीलाई छलफल र छानबिन गर्नुभन्दा महत्वपूर्ण विषयमाथिका उजुरीलाई पहिले समितिमा ल्याइनुपर्ने धारणा राखे।

समिति सञ्चालन कार्यविधिमाथिको छलफल पनि समितिको आजको बैठकमा चलेको थियो। समिति सभापति चयन छिट्टै टुङ्ग्याउने विषय पनि समितिमा उठेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.