|

विराटनगर : कोशी प्रदेशकी स्वास्थ्यमन्त्री निर्मला लिम्बुले पदबाट राजीनामा दिएकी छन्।

बुधबार बसेको जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन्। उनी गत पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन्।

राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गर्दै मन्त्री लिम्बूले पार्टीको निर्देशनअनुसार पदबाट राजीनामा दिएको बताइन्।

पहिचान पक्षधरको आन्दोलनलाई सम्बोधन गर्न सरकारलाई पटक-पटक आग्रह गर्दा नमानेपछि नैतिकताका आधारमा जिम्मेवारीबाट राजीनामा दिएको उनले दावी गरिन्।

पहिचानवादी पक्षबाट आफ्नो चरित्र हत्या गरेको बताउँदै उनले सरकारमा बसेर पहिचानको मुद्दा उठाउँदा आफूमाथि पहिचान पक्षधरबाट नै आक्रमणको प्रयास भएको बताइन्। आइतबार विराटनगरमा पहिचान पक्षधरले आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयमा ढुंगामुढा गरेका थिए।

जसपा प्रदेश अध्यक्ष दीपक याख्खाले पहिचानको मुद्दा सम्बोधन नभएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्थामा पुगेको बताए। फागुन १७ गते  प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचान पक्षधर सडक आन्दोलनमा उत्रिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.