|

बागलुङ : एक दशक अगाडिसम्म बागलुङ नगरपालिका–१३ स्थित बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसमा विद्यार्थीको चाप हुन्थ्यो। गाउँकै क्याम्पसमा उच्च शिक्षा पढ्न पाउँदा विद्यार्थी खुशी थिए।

खासगरी गरिब परिवारका विद्यार्थी पढ्दै आएको यो क्याम्पसमा छोरीबुहारी बढी हुन्थे। उच्च शिक्षाका लागि गाउँबाट क्याम्पस टाढा हुँदा धेरैले १२ पास गरेर पढाई बिट मार्थे।  विशेषगरी युवतीले क्याम्पस टाढा भएकै कारण पढाइ छाड्नु पर्ने बाध्यता भएपछि २०४७ सालमा क्याम्पस स्थापना भयो। 

क्याम्पस स्थापना भएपछि ग्रामीण क्षेत्रका विद्यार्थीले अध्ययन गर्न पाए। तर, पछिल्लो समय क्याम्पसमा विद्यार्थी टिकाउनै समस्या हुँदै गएको छ। १२ पास हुनेवित्तिकै युवा विदेश पलायन हुन थालेपछि क्याम्पसमा विद्यार्थीको संख्या न्यून हुँदै गएको हो। ३२ वर्षदेखि सञ्चालन हुँदै आएको क्याम्पसले अहिले विद्यार्थी कसरी टिकाउने भन्ने चिन्तामा छ। हरेक वर्ष विद्यार्थीको संख्या घट्दै गएपछि क्याम्पस कसरी चलाउने भन्नेमा सरोकारवाला गम्भीर हुन थालेका छन्।

विद्यार्थीबाट कुनै पनि शुल्क नलिई निःशुल्क पढ्ने वातावरण मिलाएको क्याम्पस प्रमुख ज्ञानेन्द्रराज पन्तले बताए। अहिले दैनिक १० जना पनि विद्यार्थी पढ्न नआउने उनले बताए। क्याम्पसमा हाल ४० जना विद्यार्थी भर्ना भएका छन्। शिक्षा र व्यवस्थापन पढाइ हुने क्याम्पसमा अहिले विद्यार्थीको आकर्षण घट्दै गएको छ। त्रिभुवन विश्व विद्यालयबाट सम्पबन्ध प्राप्त क्याम्पसले हरेक वर्ष राम्रो शैक्षिक उपलब्धि हासिल गरिरहेको क्याम्पस प्रमुख पन्तको दाबी छ।

‘ग्रामीण क्षेत्रको क्याम्पस भएकाले खासगरी छोरी र बुहारी बढी हुन्छन्। अहिले विद्यार्थीको संख्या धेरै घटेको छ, विद्यार्थीलाई आकर्षण गर्न धेरै प्रयास गर्‍यौँ, तर बढाउन सकिएको छैन,’ क्याम्पस प्रमुख पन्तले भने, ‘पहिले छोरा मात्रै विदेश जाने प्रचलन थियो, त्यसले गर्दा छोरी बुहारीले घरको काम धन्दा गरेर क्याम्पस पढ्ने गर्थे, अहिले छोरी बुहारी पनि विदेश जान थाले त्यसले गर्दा क्याम्पसमा विद्यार्थी संख्या घट्यो, हरेक वर्ष विद्यार्थी संख्या घटिरहेको छ।’

क्याम्पस ०४७ सालमा आईएबाट सुरु भएको थियो। ग्रामीण क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर स्थापित क्याम्पस अहिले विद्यार्थी घट्दै गएपछि संकटमा परेको छ। पाँच वर्षअघिसम्म क्याम्पसमा विद्यार्थीको उपस्थिति राम्रो भएको पन्त बताए। अहिले विभिन्न वर्षमा अध्ययन गर्ने आठ जना छात्र र ३२ जना छात्रा भर्ना भएका छन्। उनीहरूमध्ये अधिकांश परीक्षा दिन मात्रै आउने गरेको पन्तको भनाइ छ। 

बागलुङ नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले गाउँमै रोजगार सिर्जना नगरेसम्म क्याम्पस र विद्यालयमा विद्यार्थी रोक्न नसकिने बताए। उनले क्याम्पसमा मात्रै नभएर स्कुलमा पनि विद्यार्थीको संख्या घट्दै गएको बताउँछन्। प्रध्यापक आधुनिकसँग जोडिनु पर्ने र विद्यार्थीलाई व्यावहारिक तरबले शिक्षा प्रदान गर्नु पर्नेमा जोड दिए।

‘क्याम्पस हाम्रो अधिकार क्षेत्र भित्र त पर्दै तर, हाम्रो वडामा पर्ने हुँदा हामीले चासो दिनु पर्छ। विद्यार्थी यहाँ मात्रै होइन, देशभरनै कम हुँदै गएका छन्। १२ पास गर्नेबित्तिकै विदेश पलायन हुन्छन्’, प्रमुख पोखरेल भन्छन्, ’त्यसले गर्दा उच्च शिक्षालयमा विद्यार्थीको संख्या कम छ। रोजगारको अवसर र प्राध्यापक आधुनिक प्रविधिसँग जोडेर गुणस्तरीय शिक्षा दियो भने केही हदसम्म विद्यार्थी टिकाउन सकिन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.