|

पर्वत : लुम्बिनी प्रदेशअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) की मुना आचार्यका ६ महिना छोरा रियानको कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था छ। चार महिनाभित्रमा उपचार गरिसक्नुपर्ने चिकित्सकको सुझावअनुसार उनको उपचार भारतस्थित अपोलो हस्पिटलमा चलिरहेको छ। करिब ५० लाख रुपैयाँ खर्च लाग्ने भएपछि छोराको उपचार कसरी गराउने भन्ने चिन्तामा मुना छिन्।

उनको घाउमा मलहम लगाउने प्रयासस्वरूप ‘बुहारी ग्रुप अफ नेपाल’ ले केही दिनमा नै ४५ हजार रुपैयाँ संकलन गरेर बैंकमार्फत पैसा उपलब्ध गरायो। सामाजिक सञ्जाल ‘फेसबुक’ मा सक्रिय छ ‘बुहारी ग्रुप अफ नेपाल’। यो समूहमा मुना पनि आबद्ध छिन्। आफ्नो समस्याको बारेमा उनले समूहमा सहयोगका लागि अपिल गरिन्। ‘एडीमन’ ले ‘पोस्ट’ स्वीकार गरेपछि ‘ग्रुप’ मा रहेका करिब ७० हजार बुहारीहरूले रियानको अवस्थाका बारेमा बुझेपछि पचास÷सय÷दुई सय गर्दै सहयोग जुट्यो।

पोखरास्थित फूलबारीकी दुई वर्षीया अञ्जना विक छतबाट खसिन्। बाबु आमाले सिमेन्ट बालुवाको काम गर्थे। निर्माणाधीन घरको माथिल्लो तलामा अन्जनालाई पनि लगे। दुर्भाग्य ती बालिका तलाबाट खसिन्। तत्कालै मनिपाल शिक्षण अस्पतालमा लगेर आइसियुमा राखेर उपचार सुरु भयो। तर रकम अभावले उनको उपचारमा समस्या भएपछि उनको अवस्थाका बारेमा ‘बुहारी ग्रुप’ मा खबर आयो। बुहारीहरूले सहयोग गर्दा संकलन भएको ४२ हजार पाँच सय रुपैयाँ अञ्जनाका  बाबुआमालाई हस्तान्तरण भयो।

काठमाडौं घर भएका २० महिने बालक प्रणय के.सी.लाई स्पाइनलको समस्या देखिएपछि उनकी आमाले आफ्नो छोराको उपचारमा करोडौँ लाग्ने बताउँदै सहयोगका लागि अपिल गरिन्। यसबारेमा पनि थाहा पाएका ‘बुहारी’ हरूले ७२ हजार रुपैयाँ प्रणयको परिवारलाई प्रदान गरे। यसरी नै हालसम्मका सहयोग १४ जनालाई करिब साढे पाँच लाख रुपैयाँ सहयोग भइसकेको छ।

गत २०७७ सालको असारमा समाज सेवामा ‘बुहारी’ हरूले व्यवस्थित सेवाका लागि सामाजिक सञ्जालको प्रयोगमा रुचि देखाए। बागलुङका एक बच्चाको उपचारमा सघाउन आर्थिक सहयोग गरेपछि उनीहरूको सहयोगको अभियानले यात्रा तय गर्‍यो। केही महिलाहरू छन् जसले आर्थिक समस्याले उपचार गर्न कठिन भएकाहरूलाई सघाउँछन् भन्ने थाहा भएपछि अन्य बिरामीहरू पनि सम्पर्कमा आउन थाले। अरूलाई जस्तै आफूहरूलाई पनि सहयोग गरिदिन अपिलहरू आउन थालेपछि अब भने महिलाहरूले सहयोगलाई अभियानकै रूपमा अघि बढाउने निर्णय गरे।

उनीहरूले ‘फेसबुक ग्रुप’ को नाम ‘बुहारी ग्रुप अफ नेपाल’ भनी जुराए। सहयोग संकलन अभियानमा बुहारी (विवाहित महिला) हरू मात्रै रहेकाले उनीहरूले समूहको नाम पनि ‘युनिक’ हुने र नामले नै धेरैको चासो जगाउने सोचे।

‘बागलुङका बिरामीलाई सहयोग गरेपछि सहयोगको अभियान सुरु भएको हो। उनीहरू खुसी भएको देख्दा हामीलाई हौसला मिल्यो। उनीहरू खुसी भएको देख्दा सहयोग गर्ने झन् झन् बढ्दै गयो बिरामीहरूले पनि ल न हजुर सहयोग गर्ने भन्नुहुन्छ’, समूहकी संयोजक लक्ष्मी तिवारी भन्छिन्, ‘बिस्तारै बिस्तारै हाम्रो यो अभियान नै बन्यो। हामीले गरेका कामहरू राम्रा भएपछि समूहमा आबद्ध हुनेहरूको सङ्ख्या पनि बढ्दै गइरहेको छ। हामीहरूको लक्ष्य कम्तीमा पनि एउटा मानव सेवा आश्रम खोल्न पाए शान्ति मिल्ने थियो।’

 त्यो मानव सेवा आश्रममा विशेषतः बालबालिकाहरूलाई हेरचाह गर्ने गरी निर्माण गर्ने लक्ष्य रहेको तिवारी बताउँछिन्।

नेपालका ७७ ओटै जिल्लाहरू सहित प्रवासी बुहारीहरू पनि यो समूहमा जोडिएका छन्। नेपालमा कुनै समस्या परेको खबर हाल्दासाथ प्रवासी बुहारीहरूले पनि चासोका साथ लिने गरेका छन्। अहिलेसम्म पर्वत, स्याङ्जा, बागलुङ, काठमाडौं, पोखरा, बर्दियाका विभिन्न व्यक्तिहरू तथा अमेरिकामा बस्दै आएको एउटा नेपाली जोडीलाई पनि ‘बुहारी ग्रुप’ले सहयोग गरेका छ। संयोजक तिवारीको नेतृत्वमा रहेको समूहमा ‘मोडरेटर’ का रूपमा शैलजा तिवारी, रिया आचार्य, सरीष्मा तिमिल्सीना, पूजा कार्की शर्मा, बिनु अधिकारी र गीता घिमिरे रहेका छन्। सहयोग संकलनको अभियान थाल्ने र सम्बन्धित व्यक्तिसम्म पुगेर सहयोग हस्तान्तरण गर्ने गरेका छन्।

यो समूहमा बुहारी अर्थात् विवाहित महिला मात्रै सदस्य हुन्छन्। समूहकै सदस्यहरूलाई समस्या परेको अवस्थामा पनि उनीहरू सहयोग गर्छन्। सहयोगदाता र सहयोग लिनेले नाम गोप्य राख्न भनेको अवस्थामा गोप्य रहन्छ। तर ती दुवैको विवरण पनि राखिएको हुन्छ। आर्थिक सहयोगका लागि समूहले ‘बुहारी ग्रुप’ मै आफ्ना उत्पादन वा बिक्रीका लागि राखिएका वस्तुहरूको प्रचार गरिदिने र त्यसबापत दुई सय रुपैयाँ लिने गरेको छ। ‘कोही कसैको व्यापार वा केही भएमा ग्रुपमा पोस्ट गर्न पाइन्छ।

दुई सय तिरेपछि एडमीनले त्यो पोस्ट एसेप्ट गर्नुहुन्छ। जुन सामग्रीको बारेमा ७० हजार जनाले एकै पटक थाहा पाउँछन्’, मोडरेटर पूजा कार्की शर्मा भन्छिन्, ‘त्यो पैसा पनि आर्थिक सहयोगमा नै खर्च गर्ने गरिएको छ। त्यहाँ कोही न कोहीले सामग्री किन्नुहुन्छ। जसले सदस्यलाई पनि फाइदा भयो।’

‘बुहारी ग्रुप’ भनेर नाम सुनेपछि कोही कोहीले ‘छोरा ग्रुप’, ‘ज्वाइँ ग्रुप’, ‘आमा ग्रुप’ लगायतका नाम लिएर बोलाएको देख्दा भने दुःख लाग्ने गरेको अर्की ‘मोडरेटर’ गीता घिमिरे बताउँछिन्। अहिलेको अवस्थामा मानिसहरूले सहजै सहयोग गर्ने अवस्था नरहेको बेलामा पनि आर्थिक सहयोग गर्नु चुनौतीपूर्ण रहेको उनको भनाइ छ। ‘हामीले आफ्नो खाजाको खर्च कटाएर सहयोग गरेका हुन्छौँ। लुगा किन्ने बेलामा बार्गेनिङ गरेर बाँचेको पैसा पनि सहयोगमा नै गएको हुन्छ। मानवीय धर्मभन्दा ठुलो कुरा केही हुँदैन भनेर नै यसमा जोडिएका छौँ’, उनले भनिन, ‘बरु हामीलाई प्रोत्साहन दिनुभए अझै बरु समाजसेवामा सक्रिय हुन प्रेरणा मिल्ने थियो।’

समूहकी संयोजक तिवारीले कतिपयले आफूहरूले गरिरहेको आर्थिक सहयोगको काम गैर कानुनी रहेको बताउँदै हतोत्साहित पार्ने प्रयास हुने गरेकोमा आजभोलि भने केही सुधार आएको बताइन्। तर आफूहरू ती कुरा आउन नदिनको लागि समूहलाई जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेर समूहकै नाममा खाता खोलेर कानुनी रूपमा पनि पाको बन्ने तयारीमा रहेको उनको भनाई छ। समयको व्यवस्थापन, रातीको समयमा पनि आउने ‘म्यासेज’, अनावश्यक ‘पोस्ट’हरू ‘एक्सेप्ट’ भएन भनेर ग्रुप छाड्ने र अनावश्यक लेखिदिने लगायतका चुनौतीहरू समूहमा रहेको तिवारी बताउँछिन्।

पीडित भएकै ठाउँमा उपस्थित भएर सहयोग गरेको प्रत्यक्ष देखेपछि भने धेरैको मन जित्न सकिएको र विश्वासकै आधारमा एकै व्यक्तिले २० हजार रुपैयाँसम्म पनि सहयोग गरेको उदाहरण आफूहरूसँग भएको उनको भनाइ छ।

जन्मदिन, श्राद्ध, विवाह, व्रतबन्ध, पास्नी लगायतको अवसर पारेर धेरै सदस्यहरूले आर्थिक सहयोग गर्ने गरेका छन्। कतिपयले वृद्धाश्रममा सहयोग गर्न खोजेको तर नजिकमा नभएकाले सहयोग गर्न नपाएको बताउँदै विशेषतः बालबालिकाहरूको उपचारमा सहयोग गर्न पाउँदा खुसी लागेको भन्दै समूहमा पैसा दिने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.