|

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको तयारी खर्च, म्याच मनी, ‘म्यान अफ द म्याच’ ले पाउने रकम उपलब्ध नगराउँदासम्म असन्तुष्ट १० क्लबले लिग सकिएपछि मात्र आफ्ना खेलाडीलाई रिलिज गर्ने जनाएका छन्।

बिहीबार बसेको १० क्लबको बैठकले एन्फाबाट पाउनुपर्ने आर्थिक सहयोग नपाएको भन्दै आफ्ना खेलाडीलाई राष्ट्रिय क्याम्पका लागि रिलिज नगर्ने जनाएका हुन्। 

क्लबहरुले जेठ १९ गतेपछिका लिग खेलमा विरोधस्वरुप टोलीका खेलाडी तथा पदाधिकारीहरु कालोपट्टी लगाएर मैदानमा उपस्थित हुने निर्णय पनि गरेको संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधारले जानकारी दिए। 

बैठकमा ३ विभागीय र जावालखेल युथ क्लबबाहेका अन्य क्लबका पदाधिकारीहरुको उपस्थिति थियो भने उनीहरुले यसबारे लिखित सहमति जुटाएका छन्। 

शहीद स्मारक ‘ए’ डिभिजन लिग जेठ २७ गते सकिँदैछ। त्यसलगत्तै एन्फाले खेलाडीलाई भारतमा आयोजना हुने साफ च्याम्पियनसिपको तयारी क्याम्प राख्ने निर्णय गरेको छ।

शीर्ष लिग जारी रहेकै अवस्थामा नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनासीले साफ च्याम्पियनसिपका लागि मंगलबार ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए।

साफ च्याम्पियनसिपको १४औं संस्करण असार ६ देखि १८ गतेसम्म बेङ्गलुरुमा हुँदैछ। साफअगाडि नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ। 

साफमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउँदै छन्। फिफाको प्रतिबन्धका कारण श्रीलंकाले यो संस्करणमा खेल्ने छैन भने कुवेत र लेबनानले आमन्त्रित टोलीका रुपमा सहभागिता जनाउन लागेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.