|

चन्द्रौटा : महिला‚ बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलामाथि हुने विभेद अन्त्य गर्नुपर्ने बताएका छन्। मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला कपिलवस्तु आएका उनले महिलाहरूलाई अब आत्मनिर्भर बनाउने गरी मन्त्रालयले काम गर्ने दावी गरे।

नेपाली काँग्रेस शिवराज नगर समितिले आयोजना गरेको सम्मान कार्यक्रममा मन्त्री आचार्यले जिल्लामा विभिन्न परियोजनाहरू ल्याउने र त्यसमा स्थानीयहरूलाई रोजगारीको सुनिश्चितता गर्ने बताए।

विकासमा पछि परको कपिलवस्तुमा ठूला परियोजना ल्याई विकास गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताए। प्रदेश महामन्त्रीसमेत रहेका आचार्यले पार्टीलाई जनस्तरसम्म पुर्‍याउन कार्यकर्तालाई आग्रह गरे।

आगामी निर्वाचनको लागि अहिलेदेखि नै तयारी गर्नुपर्ने भएकोले गाउँ-गाउँ पुग्नुपर्ने बताए। स्वतन्त्र पार्टी भनेर अहिले लहर चलेको भए पनि यो धेरै दिन नटिक्ने बताए।

पैसाको बलमा निर्वाचन जित्ने परिकल्पना नगर्न आग्रह गर्दै जनताका काम गरेमा जनताले नै निर्वाचित गराउने बताए। आफूलाई केही नयाँ काम गरौँ भन्ने हुटहुटी रहेको जिकिर उनको थियो।

नेपाली काँग्रेसका जिल्ला उपसभापति हुमाकान्त खनालले कपिलवस्तुले मन्त्री पाउनु गौरवको कुरा रहेको बताए। जिल्लाको समग्र विकासको लागि केन्द्रमा पहल गर्न मन्त्री आचार्यलाई उनले आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.