|
सीमानाका झुलाघाटको पुल।

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा मोटरेबल पुल निर्माण हुने आशा पलाएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाट नाकामा मोटरेबल पुल निर्माण गरिने बताएपछि यस क्षेत्रका नागरिकमा आशा पलाएको हो। 

नेपालको सुदूरपश्चिम क्षेत्रको कनेक्टीभिटीलाई बढाउन बैतडीको झुलाघाट र डडेल्धुराको शीर्षमा मोटरेबल पुल निर्माण हुने भारतीय प्रधानमन्त्री मोदीले बताएका हुन्। 

भारतीय प्रधानमन्त्री मोदीले झुलाघाटमा मोटरेबल पुल बनाउने बताएपछि यहाँका बासिन्दा खुसी भएका छन्।

वर्षौं पुरानो जीर्ण बनेको झोलुंगे पुलबाट जोखिमपूर्ण आवतजावत गर्न बाध्य यस क्षेत्रका बासिन्दा मोटरेबल पुल बनाउने भारतीय प्रधानमन्त्री मोदीले भनेपछि खुसीयाली छाएको हो। 

यहाँ मोटरेबल पुल बनेपछि दुबै देशको आर्थिक गतिविधिमा टेवा पुग्ने उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टले बताए। उनले भने, ‘आफूहरुले लामो समयदेखि उठाउँदै आएको माग पूरा हुने आशा पलाएको छ।  यो निकै खुसीको कुरा पनि हो। मोटरेबल पुल निर्माण भएमा दुवै देशमा आर्थिक गतिविधिमा वृद्धि पनि हुन्छ।’ 

पुल निर्माणपछि आर्थिक वृद्धिका साथसाथै धार्मिक पर्यटन भित्र्याउन पनि सहज हुने भट्टको भनाई छ।  उनले भने, ‘ यसअघि सीमा क्षेत्रमा मोटरेबल पुल नहुँदा पर्यटक भित्र्याउन असहज हुने गरेकोमा पुल निर्माण भएमा भारतीय दर्शनार्थीहरुलाई नेपालका धामहरुको दर्शका लागि सहज हुनेछ।’

बैतडीमा त्रिपुरासुन्दरी, निंगलाशैनी, मेलौली भगवती, रौलाकेदार, दोगडाधाम, ग्वाल्लेककेदार, पतालभुवनेश्वर धामलगायत धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन्। 

पुल निर्माणपछि यस क्षेत्रमा पर्यटकीय चहलपहल हुने स्थानीय महेशदत्त भट्टले बताए।  उहाँले भने, ‘मोटरेबल पुल निर्माणपछि यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल बढ्ने विश्वास छ।’

नाकामा मोटरेबल पुल निर्माण भएमा बैतडी मात्रै नभएर सुदूरपश्चिम क्षेत्रको आर्थिक गतिविधिमा सुधार आउने र दुई देशका व्यापारिक सम्बन्ध पनि विस्तार हुने पनि विश्वास गरिएको छ। 

पुल निर्माण भएमा दुवै देशका सीमावर्ती क्षेत्रका नागरिकको पारिवारिक र सामाजिक सम्बन्ध पनि बलियो हुने  दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले बताइन्। 

उनले भने, ‘भारतसँग रोटीबेटीको सम्बन्ध रहँदै आएकोमा पुल निर्माणपछि यो सम्बन्ध अझै प्रगाढ हुनेछ।’मोटरेबल पुल बन्ने कुरा छिट्टै कार्यान्वयनमा आउनुपर्नेमा जोड दिइएको छ। 

झुलाघाट नाकामा अहिले झन्डै सयौँ वर्ष पुरानो झोलुङ्गे पुलबाट आवतजावत भइरहेको छ। उक्त नाकामा मोटरेबल पुल निर्माणका लागि सन् २००६ देखि नै चर्चा सुरु गरिए पनि बल्ल आएर पुल निर्माणको काम अघि बढ्ने सङ्केत देखिएको छ।

झोलुङ्गे पुल रहेको क्षेत्रमा एक सय पाँच मिटर लामो मोटरेबल पुल बनाउने योजना रहेकामा पञ्चेश्वर परियोजनाको डुबान क्षेत्रमा पर्ने भन्दै काम अगाडि बढ्न सकेको  थिएन।

झुलाघाट नाकामा मोटरेबल पुल निर्माणको माग गर्दै यहाँ १ महिनासम्म अनसन गरिनुका साथै बैतडी उद्योग वाणिज्य संघले सरकारलाई हस्ताक्षर समेत बुझाएको थियो।

जिल्ला भ्रमण गर्ने नेपालका शिर्ष नेताहरुले पनि झुलाघाट नाकामा पुल बनाउन पहल गर्ने बताउँदै आएका थिए।

गत मंसिरमा सम्पन्न निर्वाचनमा समेत यहाँका प्रमुख राजनीतिक दलहरुले झुलाघाटमा मोटरेबल पुल निर्माणको कुरालाई आफ्नो चुनावी एजेण्डामा राखेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.