|
प्रतीकात्मक तस्विर

इलाम : पाथीभरा मन्दिरमा १०० दिनमा ६६ लाखभन्दा बढी भेटी संकलन भएको छ। इलामको रोङ गाउँपालिकामा रहेको मन्दिरको स्वामित्व गत फागुनदेखि नयाँ समितिले लिएपछि आम्दानी सार्वजनिक गर्न शुरु गरिएको हो।

समितिका अनुसार फागुनमा २१ लाख ७० हजार २९४, चैत महिनामा २० लाख ६४ हजार सात सय ४३ रुपैयाँ र वैशाखमा  १८ लाख ८५ हजार १०५ रुपैयाँ भेटी संकलन भएको छ । त्यस्तै जेठमा हालसम्म पाँच लाखभन्दा बढी रकम संकलन भइसकेको छ।

यसअघि मन्दिरमा हुने रकम समितिले पारदर्शीरूपमा सार्वजनिक नगरेको भन्दै स्थानीयले आवाज उठाउँदै आएका थिए। रकम अपारदर्शी भएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत परिसकेको छ। 

नयाँ समिति आएपछि सङ्कलित रकम सार्वजनिक गर्न सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले बताउनुभयो । ‘पाथीभरा मन्दिर व्यवस्थापनको स्वामित्व परिवर्तन भएको १०० दिनमा रु ६६ लाख ६१ हजार ३७८ भेटी संकलन भएको छ । यसले नयाँ समितिलाई काम गर्ने हौसला थपेको छ’, उनले भने।

स्थानीय तह निर्वाचनपछि पहिलो कार्यकालमै कार्यविधि निर्माण भए पनि कार्यान्वयनमा आउन सकेको थिएन। हाल मन्दिर सञ्चालन र व्यवस्थापनको जिम्मेवारी स्थानीय तहले लिएको छ। 

यसअघि मन्दिरमा संकलित रकम पारदर्शी नभएको भन्दै आवाज उठेपछि गाउँपालिका र सर्वदलीय बैठकले मन्दिरको पुरानो समितिको हिसाब नियन्त्रणमा लिएर अनुसन्धान गर्न जिल्ला प्रशासनलाई पत्र पठाउने निर्णय गरेको छ। 

यसअघिको समितिले पछिल्लो छ वर्षसम्म मन्दिरको आयव्यय सार्वजनिक गरेको थिएन । राजनीतिक दल र स्थानीय तहले जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा पुरानो समितिको विवरण सार्वजनिक गराउने प्रयासमा गर्दै जेठ १४ गते सार्वजनिक सुनुवाइ तोके पनि कार्यक्रम भने सञ्चालन हुन सकेन। 

लेखा परीक्षकले समयमै आवश्यक सम्पूर्ण कागजात प्राप्त गर्न नसकेका कारण प्रतिवेदन तयार हुन नसक्दा सार्वजनिक सुनुवाइ हुन सकेको थिएन । यसअघिको समितिले भने यही जेठ ३२ गते सार्वजनिक सुनुवाइ गर्ने बताएको छ। 

इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले पालिकाले पठाएको पत्रका आधारमा पुरानो समितिलाई समय तोकेरै साधारणसभा गर्न लगाउने र संस्थाको लेखा परीक्षण प्रतिवेदन हेरेपछि फरक परेमा कानुनी प्रक्रिया अघि बढाउने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.