|

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–४ घर भई हाल काठमाडौँमा बस्दै आएका निर्मल श्रेष्ठले आफ्ना बाबु र आमाको स्मृतिमा पर्वत अस्पताललाई आर्थिक सहयोग गरेका छन्।

बुबा आमा नरबहादुर श्रेष्ठ र पद्माकुमारी श्रेष्ठको स्मृतिमा अस्पतालले स्थापना गरेको ‘पर्वत अस्पताल गरिब, असहायलक्षित विपद् कोष’ मा ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेका हुन्। निर्मलका  दाजुहरू गोविन्द प्रसाद श्रेष्ठ, पुष्कल प्रसाद श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, ईश्वरप्रसाद श्रेष्ठ लगायतले पनि सहयोगमा सघाएका छन्।

यो सहयोगसँगै ‘पर्वत अस्पताल गरिब, असाह्य लक्षित विपद् कोष’ मा २० लाख ६० हजार पाँच सय ५५ रुपैयाँ जम्मा भएको अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले बताए। उपचार गर्नका लागि आर्थिक स्रोत नै नभएको अवस्थामा आएका बिरामीलाई सरकारी स्वास्थ्य सेवाबाट विमुख हुन नदिने उद्देश्यले २०७६ सालमा कोषको स्थापना भएको थियो। 

बिरामीहरू अप्ठ्यारो अवस्थामा रहेको देख्दा देख्दै पनि सहयोग शीर्षकको अभावमा उपचार गर्न नसक्ने अवस्था आएपछि त्यस्तै व्यक्तिहरूको उपचारका लागि कोषले काम थालेको थियो। कोभिड–१९ को महामारीको बेलामा सहयोग रकम दिनेहरूका कारण कोष बलियो बनेको थियो। अस्पतालमा बसेर उपचार गराएपछि कोभिड जितेर फर्किएकाहरूले नयाँ जीवन पाएको भन्दै खुशीयालीमा सोही कोषलाई मोटो रकम सहयोग गरेका थिए। कोही बिरामीले उपचारका उपकरण तथा कोहीले बिरामीहरूलाई स्याहारसुसार गर्ने सामग्री दिएका थिए। 

जिल्लामा कसैको पनि विवाह, व्रतबन्ध, जन्मदिन, वैवाहिक वर्षगाँठ, श्राद्ध लगायतका विशेष दिनमा अनावश्यक खर्च गर्नुभन्दा अस्पतालमा सहयोग गर्ने अभियान चलाएर कोषमा सहयोग गर्न प्रेरित गरिएको थियो। विशेष दिनहरूमा फजुल खर्च गर्नुभन्दा कसैको प्राण बचाउन सहयोग पुग्ने र त्यसले पुण्य प्राप्ति हुने भन्दै सुरु गरिएको अभियानको सुरुवाती अवस्थामा थोरै थोरै रकम सहयोग आउने गरेको भए पनि पछिल्ला दिनमा भने सहयोगको क्रम बढेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.