|

काठमाडौं : गर्मी लागेसँगै डेंगुका बिरामी देखिन सुरु भएका छन्। गत फागुनयता देशभर डेंगुका बिरामीको संख्या ७ सय पुगिसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले फागुन अन्तिम सातायता देशभर डेंगुका संक्रमित ७ सय देखिसकेको बताएका हुन्।

उनका अनुसार यही समयमा काठकमाडौंमा नै ३० जना डेंगुका बिरामी भेटिए भने काठमाडौंसहित देशभरका ४७ वटा जिल्लामा डेंगुका बिरामी भेटिइसकेका छन्।

'फागुनयता हालसम्म ७ सयजना संक्रमित भेटिएका छन् यस अवधिमा सबभन्दा धेरै दार्चुलामा संक्रमण पुष्टि भएको छ भने काठमाडौंमा ३० जना संक्रमित भेटिएका छन्।'

सामान्यतः डेंगु असारदेखि कात्तिकसम्म तीव्र गतिमा बढ्ने भए पनि हाल माघ फागुनमा समेत डेंगु देखिन थालेको हो।

डा दाहालका अनुसार फागुन अन्तिम सातादेखि बैशाख पहिलो हप्तासम्म डेंगुका संक्रमित अलि धेरै देखिए पनि एक महिनायता डेंगुको केस अलि कम रिपोर्ट भएको छ।

'फागुन अन्तिमदेखि बैशाख पहिलो हप्तासम्म अलि बढी केस रिपोर्ट भएको थियो तर अहिले कम छ। तर मुख्य विषय भनेको बल्ल गर्मी सुरु भएको छ अब केही समयपछि पानी पर्न सुरु भएपछि यो वर्ष हाम्रोमा डेंगुका संक्रमण कस्तो अवस्थामा जान्छ भन्ने विषय अनुमान गर्न सकिन्छ‚' डा दाहालले भने।

गत साउनदेखि कात्तिकसम्म हाम्रोमा यो वर्ष डेंगु धेरै देखिएको थियो त्यसैले यो बर्ष चैत देखिनै डेंगु संक्रमणबाट बच्न  प्रदेश सरकारदेखि सबै स्थानीय तहका स्वास्थ्य प्रमुखहरूसँग छलफल गरिसकेको उनले बताए।

शुरुमै सावधानी अपनाएर संक्रमण बढ्न नदिने रणनीति बनाउन निर्देशन दिएको र काम पनि भइरहेको हुँदा यो वर्ष गत वर्षभन्दा कम जोखिम रहेको दावीसमेत डा दाहालले गरे।  

गत वर्ष साउनदेखि गत कात्तिकसम्म काठमाडौं उपत्यकासहित देशभर डेंगु संक्रमण तीव्र फैलिएको थियो। यो अवधिमा ५४ हजार ७८४ जनामा डेंगु संक्रमण भएको थियो भने डेंगुकै कारण ८८ जनाले ज्यान गुमाएका थिए।

नेपालमा सन् यसअघि पनि २०१० मा तराईका रुपन्देही, नवलपरासीलगायतका जिल्लामा डेंगुले महामारीका रूप लिएको थियो। नेपालमा पहिलो पटक सन् २००६ मा चितवनमा पहिलो पटक डेंगु पुष्टि भएको थियो।

डेंगु संक्रमणको जोखिमको मौसम सुरु भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित रहन आग्रह गर्दै आएको छ। मन्त्रालयले पूरा बाहुला भएका लुगा लगाउन, झुलभित्र मात्र सुत्न, झ्यालढोकामा लामखुट्टे नछिर्ने जाली हाल्न, घर कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिन आग्रह गरेको छ।

यसका साथै घरवरपरका खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्ने, पानी जम्मा गर्ने भाँडालाई लामखुट्टे छिर्न नसक्ने गरी छोप्ने, साँझबिहान करेसाबारीमा जाँदा, घर बाहिर वा पार्कमा जाँदा, बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.