|

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार २ जना सरकारी वकिलले बहस गरेका छन्। गत शुक्रबार आरोपीहरुको बयान सकिएपछि आजदेखि थुनछेक बहस भएको हो।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसको पहिलो दिन जिल्ला सरकारी वकिलको कार्यालयका न्यायाधिवक्ता महेशप्रसाद खत्री र न्यायाधिवक्ता जनकप्रसाद घिमिरेले बहस गरेका छन्। खत्रीको बहस सकिएको छ भने घिमिरेको बहस भोलि पनि हुने कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए।

बहसका क्रममा न्यायाधीश न्यौपानेले जाहेरीकर्ताले पहिचान लुकाएको विषयका साथै प्रतिवादीविरुद्धको अभियोग पुष्टि हुने प्रमाण खोजेका छन्।

न्यायाधिवक्ता खत्रीसँग न्यायाधीश न्यौपानेले ‘निवेदन दिँदा जाहेरीकर्ताले आफ्नो पहिचान लोप गरेका छन्‚ लोप गरेर निवेदन दिए, नेपालीको आफ्नो अस्तित्वै मेटाएर भुटानी नाम र ठाउँ खुलाउने उनीहरूको चाहिँ कानुनी दायित्व छैन ?’ भनेर प्रश्न गरेका थिए।

जवाफमा खत्रीले सबैलाई एकै ठाउँमा राखेर हेरिए मुद्दा अर्कैतिर जान सक्ने तर्क गरे। नेपालीहरुलाई बेरोजगारीको समस्याले बाध्यता रहेको खुलाउँदै बाध्यात्मक परिस्थितिका कारण पीडित प्रलोभनमा परेका तर्क खत्रीको छ।

सानु भण्डारीका डायरीमा टोपबहादुर रायमाझी, इन्द्रजित राईलगायतलाई रकम दिइएको देखिएको बहसका क्रममा खत्रीले बताएपछि न्यायाधीशले त्यसलाई पुष्टि गर्ने आधार पनि सोधेका थिए।

जवाफमा खत्रीले बैंकमा भएको डिपोजिट, विभिन्न समयमा काटिएका चेक र डिपोजिट स्लिपले पनि त्यो कुराको पुष्टि हुने बताएका थिए।

सरकारी वकिलहरु ७ देखि ८ जनाले बहस गर्ने तयारी गरिएको छ। सरकारी वकिललाई जाहेरीकर्ताको तर्फबाट बहस गर्न ३ दिनको समय छ। त्यसपछि जाहेरीकर्ताका वकिल र प्रतिवादीतर्फका वकिलले बहस गर्नेछन्।

यस प्रकरणमा बहस लम्बिनसक्ने भएपछि अदालतले समय नै तोकेर थुनछेक बहस शुरु गरेको छ। यही जेठ ३१ गते आदेश दिने गरी बहस सकाउन न्यायाधीश न्यौपानेले निर्देशन दिएका छन्।

अदालतले यस प्रकरणका आरोपीहरुलाई थुन्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने भन्नेबारे जेठ ३१ गते बुधबार आदेश गर्ने सहन्यायाधिवक्ता नेउपानेले बताए।

यस प्रकरणमा पक्राउ परेका १८ जनालाई थुनछेक बहसका क्रममा अदालतमा उपस्थित गराइएको थियो। थुनछेक बहसका क्रममा हरेक दिन प्रतिवादीले इजलासमा दिनभर बसेर आफूमाथि लगाइएको आरोपको बहस सुन्न पाउनेछन्।

नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वऊर्जामन्त्री रायमाझी, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहित ३० जनाविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा चलाईएको छ। अन्य १२ जना अझै फरार छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.