|

काठमाडौं : गाइड, गेसपेपर वा बजारमा अन्य पाइने सहयोगी सामग्रीबाट परीक्षाको तयारी गर्ने सोच राखेका स्कुले विद्यार्थीले अब चाहिँ धोका पाउने छन्। कक्षा ८, १० र १२ का विद्यार्थीले यस्ता सामग्री खरिदमा खर्च नगरे हुन्छ।

सोमबारको गोरखापत्रमा समाचार छ, राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षा प्रणाली अवलम्बन गरेको छ। यो प्रणालीका कारण वार्षिक परीक्षामा एक पटक सोधिएका प्रश्न कम्तीमा पाँच वर्षसम्म सोधिने छैन। हाल परीक्षामा बर्सेनीजस्तो प्रश्न दोहोरिने गरेका छन्। 

बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले बजारमा पाइने पुराना प्रश्नपत्रको सँगालो संकलन गर्ने र त्यसका आधारमा अभ्यास गरी कण्ठ गर्ने प्रवृत्तिलाई अन्त्य गर्न खोजिएको बताए।। ‘एक पटक सोधिएको प्रश्नपत्र कम्तीमा पाँच वर्षसम्म दोहोरिने छैन’, उनले भने,  ‘स्तरीकृत परीक्षा प्रणालीका कारण सिकाइ र बुझाइका आधारमा उत्तर लेख्नुपर्ने हुन्छ। घोकेर उत्तर दिने परम्परागत पद्धति अब काम लाग्दैन।’

बोर्डले पहिलो चरणमा यस वर्षदेखि कक्षा १० (एसईई) को गणित, विज्ञान र अङ्ग्रेजीमा यो प्रणाली लागु गरेको छ। आगामी वर्ष अन्य कक्षामा लागु गरिने छ। बोर्डले यसका लागि प्रश्नपत्रका हजारौँ सेट तयार गरिरहेको छ। देशका सयौँ शिक्षकबाट ती प्रश्नपत्र तयार गरिएका हुन्। प्रश्नपत्रको परीक्षणसमेत गरिएको छ। तिनै सेटबाट पालिकादेखि बोर्डसम्मले प्रश्नपत्र तयार गर्नेछन्। प्रश्नपत्रको पहुँच सीमित व्यक्तिमा मात्र हुने हुँदा गोपनीयता कायम रहने दाबी बोर्डको छ।

शर्माले परीक्षार्थीहरू नियमित रूपमा कक्षाकोठामा पढेर रचनात्मक क्षमता विकास गर्नेभन्दा पनि परीक्षामुखी मात्रै बन्न थालेपछि स्तरीकृत परीक्षा प्रणाली लागु गरेको बताए। उनका अनुसार पाठ्यक्रमको मर्म अनुसार विद्यार्थीमा सिकाइ सक्षमता विकास हुने र विभिन्न कक्षा उत्तीर्ण गरेपछि परीक्षार्थीले के के सिके भन्ने जान्न यो परीक्षा प्रणालीले सहयोग पुग्नेछ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.