यस्तो छ स्वास्थ्य क्षेत्र रणनीतिक योजना

|

काठमाडौं : लामो समय देखि रोकिएको नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०७९/८० - २०८७/८८ नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृत भएको छ।

 स्वास्थ्य क्षेत्र रणनीति योजना पास नहुँदा नेपालको स्वास्थ्य क्षेत्रमा वैदेशिक लगानी गुम्ने जोखिम बढ्दै गएको थियो। सरकारले सन् २०३० (२०७९/८०–८७/८८) सम्मको नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना स्वीकृत नगर्दा स्वास्थ्य क्षेत्रमा आउने वैदेशिक लगानी गुमाउनु पर्ने जोखिम बढ्दै गएको थियो।

विभागीय मन्त्रालय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ असार २०७९ मा सो रणनीतिक योजना स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको थियो तर लामो समय सम्म दाताहरुले नेपालको स्वास्थ्य क्षेत्रको आगामी रणनीतिक योजना के भन्दा देखाउन नसकेको हुँदा अप्ठ्यारो भइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताउँदै आएका थिए।

 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निती योजना महाशाखा प्रमुख डा कृष्ण पौडेलका अनुसार नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना मन्त्रिपरिषद्बाट स्वीकृत भएर भर्खरै मन्त्रालय आएको बताए।

‘स्वीकृतको लागि हामीले यसअघि पठाएको स्वास्थ्य रणनीति क्याविनेटबाट स्वीकृत भएर भर्खरै मन्त्रालय आएको छ अब हामीलाई स्वास्थ्य क्षेत्रमा आउने वैदेशिक लगानी भित्राउन सहज हुने भएको छ’ डा पौडेलले भने।

अब यसै अनुसार स्वास्थ्य क्षेत्रका दीगो बिकासका लक्ष हासिल गर्न कार्ययोजना बनाइ कार्य गर्न बाटो  खुलेको छ। स्वास्थ्यमा कुल बजेटको लगभग २० प्रतिशत जति वैदेशिक सहायता रहदै आएको छ। सन् २००२ देखि सरकारले प्रत्येक ५/५ वर्षको नेपाल स्वास्थ्य क्षेत्र रणनीति योजना बनाउँदै आएको छ।  यही रणनीति अनुसार दाताहरुले नेपालको स्वास्थ्य क्षेत्रमा लगानी गर्दै आएका छन्। 

 सरकारले अन्तर्राष्ट्रिय क्षेत्रमा गरेका प्रतिबद्धताहरुलाई पूरा गर्ने, अन्तर्राष्ट्रिय समुदायले स्वास्थ्यको क्षेत्रमा लिएको लक्ष्यलाई हासिल गर्न र देशको स्वास्थ्य अवस्था आउने ५ वर्षमा कुन स्तरमा कसरी पुर्‍याउन सकिन्छ भन्ने रणनीतिक साथ स्वास्थ्य रणनीति योजना बनाउँदै सोही अनुसार काम गर्दै आएको छ।

जस अनुसार  ५/५ वर्षको रणनीतिक योजना तयार हुने गरेको भए पनि यसपटक ७ वर्षको लागि बनाइएको छ। यो चौथो रणनीतिक योजना सन् २०२१ मा नै समाप्त भएता पनि कोभिड—१९ का कारण १ वर्ष त्यही रणनीतिलाई लम्ब्याइएको थियो।

यस्तो स्वास्थ्य क्षेत्र रणनीतिकको आगामी योजनाको मुख्य लक्ष्य प्रत्येक नागरिकको स्वास्थ्य अवस्थामा सुधार आउने राखिएको छ। सो लक्ष्य प्राप्ति गर्न ५ वटा रणनीतिक उद्देश्यहरु राखिएका छन्। जसमा स्वास्थ्य प्रणालीको कुशलता र उत्तरदायित्व अभिवृद्धि गर्नु, स्वास्थ्यका वृहत निर्धाकहरुलाई सम्बोधन गर्नु, स्वास्थ्यमा दिगो लगानी र सामाजिक सुरक्षा प्रवर्द्धन गर्नु, गुणस्तरीय स्वास्थ्य सेवामा न्यायोचित पहुँच प्रवर्द्धन गर्नु र जनसङ्ख्या र बसाइँ सराइको व्यवस्थापन गर्नु रहेका थिए। रणनीतिक योजनामा प्रत्येक रणनीतिक उद्देश्यक पूरा गर्ने समय सीमासहित कार्यहरु तोकिएको छ।

यस्तै स्वास्थ्य सेवाका गुणस्तर सुनिश्चितता तथा स्वास्थ्य सस्थाका प्रत्यायन लागि राष्ट्रियस्तरको प्रत्यायन निकायको स्थापना गर्ने,अनुगमन र जवाफदेहितासहितको राष्ट्रिय गुणस्तर सुनिश्चितता प्रणाली कार्यान्वयन गर्ने,स्वास्थ्य सेवाको गुणस्तरीयता मापन गर्नका लागि अनुगमन सूचक तथा तथ्यांक प्रणाली स्थापना गर्ने,सबै सार्वजनिक र निजी स्वास्थ्य संस्थाहरुमा सेवाको मापदण्ड अनुगमन गर्ने तथा गुणस्तर सुधार गर्ने संयन्त्र तथा क्रियाकलापहरु सुदृढ गर्ने,जनस्वास्थ्यसँग सम्बन्धित औषधीजन्य, निदानात्मक र स्वास्थ्यजन्य फोहर तथा रसायनहरुको समयमै सुरक्षित विसर्जन गर्ने प्रणालीको विकास र सबलीकरण गर्ने तथा प्रतिजैवीक प्रतिरोधी न्यूनिकरण हुने गरी स्वास्थ्य उपचार सम्बन्धी निर्देशिका तथा प्रोटोकल विकास तथा अद्यावधिक गर्ने लगायतका उद्देश्य रहेका छन्। 

यस्तै सबै स्थानीय तहमा स्वास्थ्य कार्यक्रमहरुको प्रभावकारी व्यवस्थापनको लागि स्वास्थ्य विज्ञानमा स्नातक तहको योग्यता भएका अधिकृत कर्मचारी सुनिश्चित गर्ने समेत उद्देश्य रहेको छ। 

रणनीतिक योजनाले योजना तयार हुँदाका बखतका स्वास्थ्यका सूचकको अवस्था सन् २०२५ को लक्ष्य र सन् २०३० को लक्ष्यलाई पनि प्रक्षेपण गरिएको छ। जसअनुसार सन् २०१६ मा मातृ मृत्युदर एक लाखमा २३९ रहेकोमा २०२५ मा ९९ मा झार्ने र २०३० मा त्यसलाई घटाएर ७० मा ल्याउने लक्ष्य लिइएको छ। त्यसैगरी, ५ वर्ष मुनिका बालबालिकाको मृत्युदर प्रति लाख २८ रहेकोमा २०२५ मा २४ र २०३० मा २० मा झार्ने, स्वास्थ्यमा दिगो लगानी र सामाजिक सुरक्षा प्रवर्द्धन गर्नु गुणस्तरीय स्वास्थ्य सेवामा न्यायोचित पहुँच प्रवर्द्धन गर्ने,स्वास्थ्य क्षेत्रमा घट्दो असमतामा सुधार गर्ने, जनसङ्ख्या र बसाइँ सराइको व्यवस्थापन गर्ने समेत स्वास्थ्य रणनितिले लिएको छ।

यसका साथै  ३० देखि ७० वर्ष उमेरकामा देखिएको मुटु, क्यान्सर, मधुमेह, दमजस्ता रोगबाट मृत्यु हुने प्रति १ हजारमा २ दशमलव ८ रहेकोमा त्यसलाई घटाएर १ दशमलव ९६ मा झार्ने र समग्रमा नेपालीको औसत उमेर ७० वर्षबाट बढाएर ७५ वर्षमा पुयाउने, नवजात शिशु मृत्यदर प्रतिदर १६ रहेकोमा १२ मा झार्ने, जनसंख्या वृद्धिदर २ दशमलव १ मा पुयाउने, आत्महत्या २३ दशमलव ४ बाट ४ दशमलव ७ मा झार्ने, सडक दुर्घटनाबाट हुने मृत्युदर ९ दशमलव ५ बाट ४ दशमलव ९६ मा झार्ने राणनीतिक योजनाले लक्ष्य तय गरेको छ। यी लक्ष्य पूरा गर्न प्रत्येक क्रियाकलापको समावधि पनि सो रणनीतिले लक्ष्य लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.