|

 विराटनगर : नेपालको परिवेशमा हेर्ने हो भने भौतिक संरचना अभाव, प्रशिक्षकको अभाव र खेलकुद क्षेत्रमा हुने विविध राजनीतिक चलखेलले सम्भावना बोकेका कैयौँ खेलाडी खेल क्षेत्रबाटै पलायत हुन बाध्य हुने गरेका छन्।

यस्तै खेल जीवनको नदीमा आइपर्ने संघर्ष र चुनौतीका यस्तै बाढीमा हेलिँदै सम्भावनाको बाटो खोजिरहेका मोरङ कटहरीका उसु खेलाडी २७ वर्षीय रक्कि राजवंशी कुनै वेला आफ्नो दिन पनि आउला आशमा छन्।

त्यसो त उनी ०७० मा भएको   लुम्बिनी च्याम्पियनशिपका गोल्ड मेडलिस्ट हुन्। विसं २०६८ सालमा १६ वर्षकै उमेरमा १९ औँ राष्ट्रिय  खेलकुदमा तेश्रो स्थान ओगट्न सफल उनी सन् २०१४ मा दक्षिण कोरियामा हुने एसियाली खेलकुदको १७ औँ संस्करणमा पदकका दाबेदार मानिएका थिए। 

आफ्नो देशलाई खेलको माध्यमबाट अन्तरराष्ट्रिय स्तरमा चिनाउने अवसर पाउँदा त्यो समय रक्कीको जीवनमा खुशीको कुनै सीमा थिएन तर त्यो खुशी धेरै दिन रहन पाएन।

अन्तरराष्ट्रिय स्तरको खेलमा छानिएर पनि प्रशिक्षकको लापरवाहीका कारण सिंगो देशसँगै मोरङले पाएको एउटा स्वर्णिम अवसर गुुमाउनुपर्दाको त्यो क्षण अझै उनको सम्झनामा ताजै छ।

‘म  एसियाली खेलकुदको १७ औँ संस्करण खेलकुद प्रतियागितामा सेलेक्ट भइसकेको थिए,’ उनले स्मरण गर्दै सुनाए, ‘तर कोचको लापरवाहीले गर्दा म जान पाइनँ, क्याम्पेनिङ, ट्रेनिङमा कोचले पठाउनु नै भएन पहिलो पटक भएकाले पनि मलाई यसबारे त्यति धेरै जानकारी थिएन।’

अन्तरराष्ट्रिय प्रतिस्पर्धामा सफल हुनसक्ने र पदल ल्याउने सम्भावना भएका खेलाडी मोफसलबाट पनि उत्पादन हुनसक्ने भए पनि अझै सबै कुरा काठमाडौं केन्द्रित भएकाले पनि खेल क्षेत्रमा जिल्लाको स्तर माथि उठ्न नसकेको उनी सुनाउँछन्। 

भनेजस्तो प्रशिक्षक नहुनु, प्राविधिक कठिनाई, खेलाडीलाई आवश्यक खेल सामग्री पर्याप्त नहुनु जिल्लामा रहेर खेल क्षेत्रमा भविष्य खोज्ने खेलाडीका लागि चुनौती रहेको उनी बताउँछन्।

​‘खेलाडीको लेभल बढेसँगै प्रशिक्षक पनि सोहीअनुसार हुनुपर्छ तर यहाँ त्यस्तो छैन,’ उनले भने, ‘खेलकुद सामग्रीको अभाव, कोचको समन्वय अभाव विविध कारणले पनि उसु खेल माथि उठ्न सकेको छैन।’

खेलमा लागेको परिवारले खासै नरुचाउँदा नरुचाउँदै पनि उसुप्रतिको लगावले गोल्ड मेडल जितेका उनी यो क्षेत्रमा  मोरङ जिल्लाभरि गोल्ड मेडल जित्न सफल एक्लो खेलाडी हुन्। आफू गोल्ड मेडलिस्ट हुँदा पनि  आफ्नो खेल सर्कलका साथै कोच र सम्बन्धित निकाय अनि पदाधिकारीले बेवास्ता गर्दा दुःख लाग्ने उनी सुनाउँछन्।

​आफू खेल्न र पदक जित्न सक्षम हुँदा पनि आफ्नो पक्षमा बोलिदिने वा सही कुरा सुनिदिने कोही नहुँदा कहिलेकाहीँ उनी  खेल जीवनबाट साह्रै निरास नबनेका पनि होइनन्। तैपनि एउटा विश्वासका साथ संघर्षमा अघि  बढेका उनी उसुमा फेरि स्थापित हुनेमा आफू विश्वस्त रहेको बताउँछन्। 

विभागीय टोलीले पनि बनायो निराश

कराँतेबाट खेल यात्रा आरम्भ गरेका उनले कराँतेमा ब्ल्याक बेल्ट प्राप्त गरिसकेका छन्। जिल्ला, क्षेत्रीय प्रतियोगिता खेल्दै राष्ट्रिय स्तरसम्म आफ्नो खेल प्रस्तुत गरिसकेका उनको सपना विभागीय टिमबाट खेल्ने थियो।

​तर त्यहाँ पनि उनले भनेजस्तो सफलता हात पार्न सकेनन्। नेपाल पुलिस क्लबबाट कन्ट्र्याक्टमा खेले पनि उनले नेपाल प्रहरीमा नै भर्ती भएर स्थायी रुपमा नै खेल खेल्ने उनको सपना भने पूरा हुन सकेन।

उनले नेपाली सेनामा पनि आफूलाई अगाडि सारे तर त्यहाँ पनि उनले सोचेजस्तो भएन। अहिले उनी विद्यालयमा स्वास्थ्य र खेलसम्बन्धी तथा जिममा प्रशिक्षण दिँदै आएका छन्।

सर्वसाधारण भएर खेल्दा अनुशासन र लगनशीलता नपुग्ने तर विभागीय टोलीमा अनुशासन र गर्नैपर्छ भन्ने प्रतिवद्धता हुने हुँदा आफू र आफ्नो खेल कौशल अझ तिखार्न विभागीय टोलीमा प्रवेश गरेर खेल्ने चाहना राखेको उनी सुनाउँछन्। उनी हाँस्दै भन्छन्, ‘तर अब विभागीय टोलीमा आबद्ध भएर खेल्ने उमेर पनि गयो।’

राजनीतिले थला पारेको खेल

घरको जेठो छोरो परिवारको जिम्मेवारी र आर्थिक अवस्थाले पनि जिल्ला नाघेर काठमाडौं गएर ढुक्कसँग बस्न नदिएको बताउने उनी खेलकुद क्षेत्रमा धेरै राजनीति हुने गरेको गुनासो गर्छन्।  

उसु खेलमा डिप्लोमा गर्ने बेलाको सम्झना गर्दै उनी सुनाउँछन्, ‘मलाई डिप्लोमा गर्नबाट रोक्न मेरै साथीभाई लागेका थिए, यहाँ धेरै राजनीति हुन्छ।’

उनले डिप्लोमा गरे मोरङले नयाँ प्रशिक्षक पाउँछ भनेर आफूलाई सिनियरहरुसमेत मिलेर रोक्न खोजेको र यसका लगि धेरै नेताको ढोका ढकढक्याउन पुगेको उनले बताए।

‘मैले डिप्लोमा गरें भने प्रशिक्षण दिन पाउँछु नि त, यसले गर्दा मलाई रोक्न खोजेका थिए तर म धेरै पटक काठमाडौं पुगें,’ उनले भने, ‘नेताहरुलाई भनसुन गर्न लगाए, मलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले साथ दिनुभयो, उहाँले खेलकुदमा राजनीति गर्नु हुँदैन भनेर भनेपछि मैले चान्स पाएको हो।’

जातका कारण हेपाइमा

कहिलेकाहीँ आफू राजवंशी भएकै कारण पनि अवसरबाट वन्चित भएको अनुभूति हुने गरेको उनी सुनाउँछन्। 

आफूभन्दा जुनियर र उनीसँगैका साथीभाईलाई सहज तरिकाले परिचित गराउँदा आफू गोल्ड मेडलिस्ट हुँदा पनि परिचित गराउन आनाकानी गर्ने जस्ता भोगाई उनीसँग थुप्रै छन्।

आफ्नै साथी सर्कलले दिएको अपमान र उनीहरुले गरेको व्यवहारलाई शक्तिको रुपमा लिएको बताउने उनी आफूलाई एकदिन खेल क्षेत्रले चिन्ने बताउँछन्।

​‘कहिलेकाहीँ म राजवंशी भएको कारणले पनि हेपिएको छु, न म पहाडको भएँ न मधेसको आदिवासी भन्छन्‚ त्यो खालको व्यवहार मैले भोगेको छु,’ उनी सुनाउँछन्, ‘प्रत्यक्ष भन्दैनन् तर अप्रत्यक्ष रुपमा यो राजवंशीले खेलेको अथवा खेलाएको के गर्नु भन्ने किसिमका अभिव्यक्ति दिने गरेका छन्।’

‘अवसर पाए सफल हुन्छु’ 

घरपरिवारको डाक्टर या इन्जिनियर बनेको हेर्ने सपना थियो तर उनको चाहना देशलाई खेलको माध्यमबाट चिनाउने छ। यो क्षेत्रमा भने जस्ता पारिश्रमिक त हुँदैन तर भने जस्ता नाम हुने हुँदा पनि चुनौतीको पहाड छिचोल्दै सफलताको गन्तव्य पछ्याइरहेको उनी सुनाउँछन्।

अवसर पाए र साथ पाए आफ्नो देशलाई अन्तरराष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य अझै नमरेको उनी बताउँछन्। ‘यहाँ सबै नाता, आफ्नो भनिदिने सुनिदिने चाहिने रहेछ मेरो त्यो खालको पहुँच छैन‚ मेहनत छ गर्छु भन्ने इच्छाशक्ति छ,’ उनले भने, ‘अवसर पाए अझै पनि मेरो देशलाई उसुको माध्यमबाट अन्तरराष्ट्रिय स्तरसम्म चिनाउने चाहना मरेको छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.