काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमार्फत हरेक वर्ष करका दर परिवर्तन गर्दा आन्तरिक र वैदेशिक लगानी बढ्न नसक्ने बताएका छन्।
सोमवार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर’ विषयक अन्तरसंवादमा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्। उनले आर्थिक विधेयकमार्फत सरकारले चालु आर्थिक वर्षमा कायम गरेका करका दरलाई समेत परिवर्तन गरेको भन्दै निजी क्षेत्रको मनोबल कमजोर बन्न पुगेको दाबी गरे।
उनले आर्थिक विधेयकमा स्टिल तथा उत्पादनमूलक उद्योगमा कायम गरिएको करका दर परिमार्जन हुनुपर्ने बताए। उनले सरकारले बैंक तथा वित्तीय संस्थाहरू मर्ज हुँदा नियामक निकायले प्रोत्साहन गर्न दिएको छुट कटौती गर्नु राम्रो नभएको बताए। अध्यक्ष ढकालले चालू आर्थिक वर्षको आर्थिक ऐनले व्यवस्था गरेका कतिपय व्यवस्था बजेटले खारेज गरेको विषलाई निजी क्षेत्रले स्वीकार गर्न नसक्ने भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले आर्थिक नीति स्थिर भएको हेर्न चाहेको भन्दै आर्थिक वर्षैपिच्छे करका दर परिवर्तन हुनु राम्रो नभएको उल्लेख गरे। उनले बजेटमा नीति परिवर्तन गर्दा त्यसको बाहिर प्रभाव मूल्याङ्कन र लगानीलाई प्रोत्साहन हुने गरी गर्न आवश्यक रहेको बताए।
उनले भने, ‘चालू आर्थिक वर्षको आर्थिक ऐनले व्यवस्था गरेका कतिपय व्यवस्था बजेटले आगामी आर्थिक वर्षको लागि खारेज गरेको छ। त्यसलाई निजी क्षेत्रले प्रशंसा गरेको छैन। सरकारले बैंक तथा वित्तीय संस्था मर्ज हुँदा नियामक निकायले प्रोत्साहन लागि दिएको छुट कटौती गर्नु राम्रो भएन। सरकारले आर्थिक नीतिमा स्थिरता दिन सकेन भने निजी क्षेत्रको मनोबल कमजोर हुन्छ। त्यसले आन्तरिक र वैदेशिक लगानी वृद्धि हुन सक्दैन।’
अध्यक्ष ढकालले सरकारको आर्थिक विधेयकमा करका दर अचानक परिवर्तन गर्दा दीर्घकालीन असर पर्ने बताए। उनले निजी क्षेत्रले बजेट सुुन्दा राम्रो भन्ने तर पाना पल्टाउँदा विरोध गर्ने प्रचलन रहेको भन्दै बजेट लेख्दा राम्रो भाषामा लेख्ने तर आर्थिक विधेयकमा लेख्ने नम्बर परिवर्तन गर्ने आशंका व्यक्त गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।