युवा स्वरोजगार र लघु उद्यमलाई प्राथमिकता दिइने

|

काठमाडौं : गुल्मीको चन्द्रकोट गाउँपालिकामा माओवादी केन्द्रले २६ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ। प्रतिवद्धतापत्रमा शान्तिपुरमा कृषि क्याम्पस सञ्चालन गर्नेदेखि व्यवस्थित वस्ती र स्मार्ट सिटि बनाउने योजना रहेको छ।  

चन्द्रकोट गाउँपालिकालाई आत्मनिर्भर बनाउन आन्तरिक आय वृद्धि गर्ने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ। नदिजन्य पदार्थ, स्लेट ढुङ्गा, रातोमाटो, वनस्पतिजन्य उत्पादन र जडिबुटीको बिक्रीबाट आम्दानी गर्ने माओवादी केन्द्रको योजना छ। 

शान्तिपुरमा कृषि क्याम्पस र दम्का, मजुवामा प्राविधिक क्याम्पस स्थापना गर्ने माओवादी प्रतिवद्धतापत्रमा उल्लेख छ। त्यस्तै शान्तिपुर र मजुवामा १५ र १५ शैयाको अस्पताल स्थापना गर्ने, स्मार्ट सिटी, व्यवस्थित वस्ति विकास गर्ने र वसपार्क तथा सार्वजनिक जग्गाको सीमा निर्धारण गरिने प्रतिवद्धतापत्रमा लेखिएको छ।

गाउँपालिकामा एउटा सुविधासम्पन्न वृद्दाश्रमको व्यवस्था गर्ने, वालश्रममा रोक लगाउने र वालबालिकाका लागि खेल्ने बगैंचा र पार्क निर्माणमा जोड दिने माओवादीले जनाएको छ। राष्ट्रिय स्तरमा ख्याति कमाएका स्थानीय खेलाडीहरु भलिबलका हरिबहादुर थापा र क्रिकेटका सोमपाल कामीको सम्मानमा प्रतिष्ठान र प्रशिक्षण केन्द्र स्थापना गर्ने योजना पनि माओवादीले अगाडि सारेको छ।

शान्तिपुर र मजुवामा सुविधासम्पन्न पर्यटक आवास गृह निर्माण एवं खादिकोट, धौलादिप, जोगिस्थान, रेमी लगायत सम्भाव्य स्थानमा होमस्टे स्थापना गरी पर्यटन प्रर्बद्धनमा जोड दिने, हुग्दी खोलामा थप जलविद्युत उत्पादनको सम्भाव्यता अध्ययन गर्ने पनि प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ।

अर्जेवामा ३३ केविको सव स्टेसन स्थापना गर्ने, युवाको विदेश पलायन रोक्न युवा स्वरोजगार र लघु उद्यमको विकास गर्ने लगायतका २६ बुँदा समेटेर प्रतिवद्धतापत्र सार्वजनिक गरिएको माओवादी केन्द्रका गाउँपालिका अध्यक्षका उम्मेदवार युवराज केसीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.