|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष ०८०/८१ को बजेट सच्याउन सरकारसँग माग गरेका छन्। बजेट सच्याए सरकार असफल भयो भनेर आफूहरुले नभन्ने अध्यक्ष ओलीको भनाई थियो। 

मंगलबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले सत्तारुढ दलहरुले अहंकार देखाएर बजेटमा कमा र फुलस्टप पनि सच्याउन नचाहे परिणामले सो अहंकारलाई झारिदिने चेतावनी दिए।

ओलीले बजेटले उत्पादन, उत्पादकत्व बढाउने, रोजगारीको कुनै पनि बाटो नदेखाएकाले त्यसलाई सच्याउन उपयुक्त हुने जिकीरसमेत गरे। 

उनले भने, ‘अब यहाँ सत्ता अहंकार हुन्छ। बजेट सच्याउन मिल्दैन। बजेट सच्याएवापत सरकार असफल भयो भन्दैनौं हामी। सच्याउनुस् बजेट। सरकार असफल भयो, सरकारले बजेट फेर्‍यो भन्दैनौं हामी। तर सरकार देश र जनताका लागि बजेट सच्याउन तयार होस्। हामी साथ दिन्छौं तर सत्ता अहंकारले बजेटमा कमा, फुलस्टप फेरिँदैन। हामी जो बाहुबली छौं‚ टेर्दैनौं भन्नु हुन्छ भने परिणामले तपाईंलाई सत्ता अहंकारबाट तपाईंको अहंकारको सत्ताको भूत परिणामले झारिदिनेछ।’

अध्यक्ष ओलीले राजस्व अपचलन हुने गरी बजेट आएको दावीसमेत गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.