६ महिनाभित्र मापदण्ड पूरा नगरे बन्द

|

काठमाडौं : काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत सञ्चालित निजी विद्यालयलाई कारबाही गर्ने भएको छ। महानगरपालिकाको शिक्षा विभागका प्रमुख शिक्षा अधिकारी सीताराम कोइरालाले मापदण्डभित्र चलेका छन् वा छैनन् भनी निजी विद्यालयको अनुगमन गर्ने बताए।

महानगरपालिकाले छात्रवृत्ति वितरण गरी त्यसको विवरण महानगरमा पठाउनू भने पनि अटेर गरेपछि विद्यार्थीलाई छात्रवृत्ति प्रदान नगर्ने ३४२ वटा संस्थागत विद्यालयको नाम सार्वजनिक गरेको थियो। यसपछि मापदण्डअनुसार विद्यालय चलेका छन् वा छैनन् भनी अनुगमन गर्ने भएको हो। 

उनले थाहाखबरसँग भने, ‘यसका पनि मापदण्ड छन्। त्यसैअनुसार विद्यालय चल्नुपर्छ, प्रक्रियागत रूपले जानुपर्ने भएकाले हामी यही साउन महिना पछिबाट अनुगमन थाल्छौँ। मापदण्ड पूरा नगर्ने विद्यालय बन्द गर्छौ।’ उनका अनुसार ६ महिनाको समय दिइनेछ। उक्त समयमा मापदण्डअनुसार विद्यालय सञ्चालन नभए महानगरपालिकाले बन्द गर्नेछ। 

काठमाडौं महानगरपालिकाले पूर्वप्राथमिक विद्यालय व्यवस्थापन निर्देशिका, २०७३ को बुँदा (११) मा विद्यालयको न्यूनतम मापदण्ड तोकेको छ। जसमा खुला इनार, पोखरी, भीर, खोला, फोहोर संकलन केन्द्र, बसपार्क, ध्वनि प्रदूषण उद्योगधन्दा, हवाई मैदानबाट पाँच सय मिटर बाहिर हुनुपर्ने मापदण्ड छ।

त्यसैगरी निर्देशिकाको ‘घ’मा उल्लेख छ, ‘विद्यालय भवन आसपासमा पेट्रोलपम्प, मुख्य सडक, ट्राफिक जोखिम नभएको स्थानमा हुनुपर्छ।’ काठमाडौं महानगरपालिकाका शिक्षा विभागले यी माथिका मापदण्ड मन्टेसरी शिक्षासँगै निजी विद्यालयका लागि पनि यी आधारभूत मापदण्ड तोकिएको जनाएको छ।

यी मापदण्डभित्र रहेर काठमाडौं उपत्यकाभित्रका निजी विद्यालय सञ्चालन भएका छैनन्। चावहिलको चुच्चेपाटीस्थित ग्य्राण्ड स्कुल चुच्चेपाटी–गोकर्ण सडक नजिकै सञ्चालनमा छ।

नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीका अनुसार एउटा विद्यालय रहेको पाँच सय मिटरको दूरीमा मात्रै अर्को विद्यालय सञ्चालन गर्न पाइने कानुनी व्यवस्था छ तर ग्य्राण्ड स्कुल नजिकै अर्को स्कुल तारा सदन स्कुल सञ्चालन भइरहेको छ। यी दुई स्कुल सडक नजिकमात्र होइन आमुन्नेसामुन्ने सञ्चालन भइरहेका छन्।

महानगरपालिकाले सार्वजनिक गरेकाे विद्यालय  विवरणअनुसार एउटै वडा अर्थात् ३२ वडामा मात्रै ४२ वटा निजी विद्यालय सञ्चालनमा छन्। वडा-६ मा २२ वटा विद्यालय सञ्चालनमा छन्। 

यतिमात्र होइन, अनामनगरको धोबीखोला करिडोर नजिकै अक्सिडेन्टल पब्लिक स्कुल पनि सञ्चालनमा छ। त्युैगरी गोकर्णेश्वर नगरपालिका वडा–९ स्थित आरुबारीमा चुच्चेपाटी–गोकर्ण सडकसँर्गै ग्रिन तारा चाइल्ड हेभन स्कुल सञ्चालन भइरहेको छ।

गोकर्णेश्वर नगरपालिका वडा–९ स्थित बेसीगाउँमा भेनस पब्लिक स्कुल उच्च जोखिम मोलेर भए पनि सञ्चालन भइरहेको छ। जोरपाटी–सुन्दरीजस सडक खण्डमै स्कुलको गेट हुँदा विद्यार्थीहरू ज्यानै धरापमा पारेर आवतजावत गर्न बाध्य छन्।

संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२, मा शौचालयको व्यवस्था, खानेपानी र अपांगमैत्री हुनुपर्ने व्यवस्था छ। विद्यालय भवनबाहेक एकैपटक कम्तीमा सबै विद्यार्थीका लागि एसेम्ब्ली सञ्चालन गर्न र कम्तीमा पनि ब्याडमिन्टन र भलिबल खेल्न जमिन हुनुपर्ने व्यवस्था छ।

माथिका निजी स्कुलहरूमा पर्याप्त खेल्ने वातावरण छैन। नाफा कमाउन मात्रै स्कुल सञ्चालन गरेका छन्।  त्यसैगरी मन्टेसरी पनि मापदण्डविपरीत सञ्चालनमा छन्। ह्यापी किड्स किन्डरगार्टेन धोबीखोला करिडोर छेउमा सञ्चालित छ। 

मान्छे बस्ने घरमा स्कुल चलाउँदै, पैसा कुम्ल्याउँदै

नेपाल अभिभावक महासंघका अध्यक्ष भण्डारीले उपत्यकाभित्रका अधिकांश निजी विद्यालय मान्छे बस्ने घरमा सञ्चालन भइरहेको बताए। ‘मान्छे बस्ने घरमा स्कुल चलाएका छन्, एउटै कक्षा कोठामा ४०, ५० जना विद्यार्थी कोचेर राखेर अभिभावकबाट सञ्चालकले पैसा कुम्ल्याइरहेका छन्’‚ उनले भने।

उनले विद्यालय सञ्चालनका लागि छुट्टै मापदण्ड रहेको र ती मापदण्डभित्र रहेर सञ्चालन गर्नुपर्ने बताए। ‘विद्यालय भौतिक रूपमा व्यवस्थित हुनुपर्छ तर अहिलेका विद्यालयमा एउटा झ्याल र ढोका छ। दिउँसै अँध्यारो ठाउँमा राखेर विद्यार्थीहरू पढ्न बाध्य छन्’‚ उनले भने। 

कक्षाकोठामा पंखा नहुँदा विरामी

अहिले धेरै गर्मी बढेको छ। तापक्रम बढ्दा जनजीवनमा असर परेको छ। तराईमा कतिपय विद्यालय बन्द पनि भएका छन्। काठमाडौं उपत्यकामा गर्मी बढे पनि विद्यालय बन्द भने भएका छैनन् तर विद्यालयमा आवश्यक सुविधा नभएका कारण विद्यार्थी विरामी हुन थालेका छन्। नेपाल अभिभावक महासंघका अध्यक्ष भण्डारीका अनुसार सामुदायिक विद्यालयमा फराकिलो जमिन भएकाले विद्यार्थीहरूलाई पढ्न खेल्न सहज छ भने अधिकांश निजी विद्यालयमा साँघुरो कोठामा पठनपाठन भइरहेको छ।

अत्यधिक गर्मी भए पनि पंखा छैन। टिनको छानामा पढाउने गरिएको छ। गर्मीका कारण विद्यार्थीहरू पढ्न नसक्ने अवस्थामा पुगेका छन्। ‘पर्याप्त हावा चाहिन्छ तर निजी विद्यालयमा हावा छिर्ने वातावरण नै छैन’‚ उनले भने, ‘पर्याप्त झ्यालढोका छैन। यस्तो गर्मीमा कसरी विद्यार्थीहरू पढ्छन्? सम्बन्धित निकाय अनुगमन गर्दैन,पटक पटक कुरा उठाए पनि जिम्मेवार निकाय मौन छन्।’

उनले उपत्यकामा १०, १५ दिन विद्यालय नै बन्द गर्न सुझाव दिए। ‘कि विद्यालयमा छिटो पंखा‚ भ्यान्टिलेशन जोडौँ’‚ उनले भने, ‘नभए १०, १५ दिन बिदा मिलाएर गर्मी बिदा दिऊँ,यसो गर्दा बालबालिकाको स्वास्थ्यमाथि समस्या हुँदैन।’
(याे पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.