|

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले  सहकारी संस्थाको अनुशासनलाई सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्।

बुधवार काठमाडौंमा आयोजित सहकारीको विद्यमान चुनौती र समाधानको उपाय विषयक अन्तरसंवादमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सहकारीका समस्या समाधान हुन नसक्ने खालका नरहेको भन्दै साझा प्रतिबद्धता लिन आवश्यक रहेको बताए। उनले सहकारीका समस्यालाई ठूलो बनाउन जरुरी नरहेको जिकिर गरे।

उनले सबै सहकारी समस्याग्रस्त नरहेको र सबै सहकारी नभागेको भन्दै केही सहकारीका कारण सबै सहकारी संस्था अपमानित हुनु परेको बताए। सहकारीहरु आफ्नो नियम र अनुशासनमा बस्न नसक्दा समस्या आएको बताए। उनले सहकारी संस्थाले आन्तरिक सुशासनको पालना गर्नुपर्नेमा जोड दिए।

उनले भने, ‘यी समस्या समाधान हुन्छन्, सहकारी क्षेत्रले पुनः पुनर्जीवन पाउँछ र अर्थतन्त्र र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण क्षेत्रका रूपमा रूपान्तरण हुनसक्छ। सबै सहकारी समस्याग्रस्त भएका होइनन् र सबै भागेका पनि छैनन्, सबै बचतकर्ताको बचत समस्यामा परेको पनि होइन तर केहीको परेको छ। सहकारीको मूल्य मान्यता आत्मसात नगरिएका ठाउँमा समस्या भयो। पहिले त हामीले आन्तरिक सुशासन पालना गर्नुपर्छ। अरूमा समस्या खोजी गर्ने हो भने झनै समस्या बढ्छ। सहकारी संस्थाको अनुशासन सुदृढ गर्नु आवश्यक छ।’

सचिव रेग्मीले गलत प्रवृत्ति भित्र्याउने काम रोकेर सबैले स्वसुधार गर्न आवश्यक रहेको बताए। उनले असजिलो अवस्थामा अवरोध नभई एकताबद्ध हुुनपर्ने आवश्यकता रहेको उल्लेख गरे।   


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.