|

काठमाडौँ : सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ  च्याम्पियनसिपको दोस्रो दिन दुई एमेच्योर खेलाडी सद्भाव आचार्य र सुवास तामाङ संयुक्तरुपमा शीर्ष स्थानमा रहेका छन्।

गोकर्ण गल्फ क्लबमा सद्भाव र सुवासले ३६ होलको समाप्तिमा समग्रमा ९–अन्डर १३५ को स्कोरमा नीरज तामाङ र शुक्रबहादुर राईलाई तीन स्ट्रोकले पछि पारेका हुन्। यस्तै राष्ट्रिय टिमका खेलाडी सद्भावले ७–अन्डर ६५ को उत्कृष्ट स्कोर कार्ड बनाउँदै शीर्षस्थानमा उक्लिए।

सुवासले भने इभन–पार ७२ मा दोस्रो दिनको खेल सकाउँदा शीर्षस्थान बाँडे। दिनकै उत्कृष्ट कार्ड बनाउने क्रममा नीरज तामाङले ८–अन्डर ६४ को स्कोर बनाए। यो स्कोरमा नीरज र डिफेन्डिङ च्याम्पियन शुक्रबहादुर राईले संयुक्तरुपमा तेस्रो स्थान बाँडे।

शुक्रले ५–अन्डर ६७ मा दोस्रो दिनको खेल सकाए। दुवैले समग्रमा ६–अन्डर १३८ स्कोर गरे।

यसैगरी जयराम श्रेष्ठ र शिवराम पौडेल संयुक्तरुपमा सातौं स्थानमा छन्। दुवैले आज इभन–पार ७२ को कार्ड बनाए। समग्रमा २–अन्डर १४२ सहित सूर्यप्रसाद शर्मा नवौं स्थानमा छन्। इभन–पार ७२ सहित समग्रमा १–अन्डर १४३ सहित दिनेश प्रजापति दशौं स्थानमा रहे।

एमरच्योरतर्फ टासी छिरिङ तेस्रो स्थानमा छन्। उनले २–अन्डर ७० सहित समग्रमा १४४ स्कोर गरेका छन्। यसैगरी वाङचेन ढोन्डुप, भरत थापा मगर र प्रज्वल गुरुङ सहित ६ एमरच्योर खेलाडीले पनि कट बनाए। युवा एमेच्योर सद्भावले दिनको शुरूवात बर्डीबाट गरे। 

यसपछि तेस्रोदेखि छैटौं होलसम्म लगातार चार होल र नवौं होलमा एक–एक सट बचाए। सातौं होलको बोगीले फ्रन्ट नाइन ५–अन्डर ३१ मा पूरा गरे।

त्यसपछि १३औं र १५औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २–अन्डर ३४ मा समापन गरे। प्रतियोगिताअन्तर्गत धरानका प्रोफेशनल गल्फर निरज तामाङले दिनकै उत्कृष्ट कार्ड निकाल्ने क्रममा फ्रन्ट नाइनमा लोभलाग्दो प्रदर्शन गरे। उनले तेस्रोदेखि नवौं होलसम्म लगातार सात बर्डीको सफलता प्राप्त गरे।

यसैगरी डिफेन्डिङ च्याम्पियन शुक्रले फ्रन्ट नाइन ४–अन्डर ३२ मा सकाए। प्रोफेशनल गल्फर्स एशोसिएशन नेपालद्वारा आयोजित तथा सूर्य नेपाल प्रालिद्वारा प्रयोजित प्रतियोगितामा ४१ प्रोफेशनल र ९ एमेच्योर गरी कुल ५० खेलाडी सहभागी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.