|

दाङ : तुलसीपुर उपमहानगरपालिका-२ खैरीपुरका गंगाबहादुर डाँगी करिब २ महिनाअघि तुलसीपुर-७ बस्ने अंकित अधिकारीले क्यानडा पठाउने भन्ने बारेमा थाहा पाए।

त्यसपछि उनले अंकितसँग भेटेर क्यानडा जान सबै कुराको जानकारी लिएर जान शुरु गरे। उनलाई अंकितले क्यानडामा मासिक साढे ३ लाख कमाइ हुने र पठाउन २५ लाख खर्च लाग्ने बताए। 

शुरुमा उनले अंकितको खातामा मोबाइल बैंकिङमार्फत एक लाख र दोस्रोपटक ३५ हजार हालिदिए। त्यसपछि उनीसँगै अरूलाई अंकितले बायोमेट्रिकका लागि भारतको दिल्ली लगे। त्यसपछि उनले तपाईँहरूको भिसा आयो भनेर पैसा माग्न शुरु गरे।

भिसा आयो भनेपछि गंगाले अंकितको खातामा फेरि ५ लाख रुपैयाँ हालिदिए। फेरि उनले ७९ हजार हालिदिए। फेरि ८ लाख हालिदिए र अन्तिममा ९ लाख ६० हजार हालिदिए। यो सबै गरेर उनले करिब २५ लाख दिएको बताए।

उनले भने, ‘जेठ १६ गते तपाईँहरूको उडान छ भनेर हामीलाई खबर गरे। घरबाट बिदा भएर काठमाडौँ गयौँ। काठमाडौँमा ३०-३५ हजारको किनमेल पनि गर्‍यौँ। जाने दिने नक्कली भिसा र टिकट रहेको खुलासा भएपछि हामी ठगिएको थाहा पायौँ।’

उनका अनुसार शुरुमा भिसा देखाएपछि मात्र पैसा दिने कुरा भएको थियो। त्यसविपरीत पैसा माग्दै गए। पहिला भएको कुरा सम्झाउँदा तपाईँहरू गए जानुहोस्, नगए नजानुहोस् भनेर थर्काउने गरेका थिए।

उनले भने, ‘मैले ५ लाख रुपैयाँ दिएपछि भिसा देखाएपछि मात्र पैसा दिने कुरा भएको थियो। अहिले यसरी पैसा माग्नु राम्रो भएन भनेँ। २५ लाख होइन ३० लाख दिएर जान तपाईँ जस्ता धेरै तयार छन्। तपाईँले नदिए अर्कोलाई पठाउँछु भनेर धम्क्याउन थालेपछि पटक पटक गरी करिब २५ लाख बुझाएँ।’

उनले आफूले गाउँमा २ देखि ३ प्रतिशत ब्याजमा पैसा जम्मा गरेको बताए। त्यही पैसाका कारण घरमा नराम्रो भएको भन्दै यसरी आफूहरूलाई ठग्ने अंकितलाई कारबाहीको माग गर्दै वैदेशिक रोजगार विभाग र जिल्ला प्रशासन कार्यालय तथा प्रहरीमा पनि निवेदन दिएको बताए।

अंकितले क्यानडा र पोल्याण्ड पठाउने भनेर अहिलेसम्म २१ जनाबाट १ करोड ६३ लाख रुपैयाँ उठाएर भागेको बुधबार रिपोर्टर्स क्लब तुलसीपुरमा पत्रकार सम्मेलन गरेर पीडितहरूले बताए।

यसैगरी रोहित केसीले पनि उनलाई क्यानडा जाने भनेर २७ लाख रुपैयाँ विभिन्न समयमा बुझाए। उनी पनि क्यानडा जान काठमाडौँ गए। उड्ने दिनसम्म कुनै पनि कागजपत्र नपाएपछि आफू ठगिएको उनले बताए।

उनले भने, ‘मलाई पनि शुरुमा पैसा दिनु पर्दैन भनेर अंकितले भनेका थिए तर पछि विभिन्न समयमा पैसा माग्दै गएपछि २७ लाख बुझाएँ। अन्तिममा भिसा आयो भनेर टिकट र भिसा देखाएर घरबाट बिदा भएर काठमाडौँ गएँ। उड्ने वेलासम्म कुनै पनि कागजपत्र नदिएपछि आफू ठगिएको थाहा पाएँ।’

आफ्नो पैसा खाएर अंकित सम्पर्कमा नआएपछि आफूहरू उनको घरमा गएको बताए। उनले शुरुमा परिवारले पैसा दिने कुरा गरे पनि पछि अंकित सम्पर्कमा नभएको भनेर उम्किन खोजेको बताए।

यसैगरी तुलसीपुर उपमहानगर-१५ का गगन कार्कीले पनि छोरालाई क्यानडा पठाउन १७ लाख बुझाए। उनलाई पनि अंकितले नक्कली टिकट र पैसा देखाएर पैसा बुझाएको बताए। २०२३ मे महिनाको ३० तारिखमा काठमाडौँबाट भारतको दिल्ली‚ दिल्लीबाट दुबई र त्यहाँबाट क्यानडा जान उनले टिकट देखाएपछि आफूहरूले पैसा दिएको उनको भनाइ छ।

यस्तै उनले आफूहरू ठगिएपछि प्रहरी प्रशासनमा निवेदन दिए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको समेत बताए।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.