|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल आज बिहीबार बुटवल जाँदैछन्। 

बुटवलमा आईएमई प्रालिले सञ्चालन गरेको लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गर्न दाहाल आज बिहान १० बजे बुटवल जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

गत जेठ १५ गते देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको उक्त केबलकारको आज औपचारिक उद्घाटन हुन लागेको आईएमई केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। 

बुटवलमा पहिलो पटक केवलकार सञ्चालन भएको हो। बुटवल–३ मा बटम स्टेसन र पाल्पाको तिनाउ गाउंपालिका–३ वसन्तपुरमा टप स्टेसन रहेको केबलकारले यी दुवै वडाका बासिन्दालाई केबलकार चढ्दा लिइने शुल्कमा ४५  प्रतिशत छुट दिने घोषणा समेत गरेको छ।

स्थानीयको सहयोगले केबुलकार सञ्चालनमा ल्याउन सफल भएकाले स्थानीयको पनि अपनत्व महसुस गराउन टिकट शुल्कमा ४५ प्रतिशत छुट गरिएको अध्यक्ष ढकालले बताए। 

केबलकारको गन्तव्य स्थान पाल्पाको वसन्तपुरमा कामाख्या देवीको आकर्षक मन्दिर बनाई नयाँ धार्मिक र पर्यटकीय गन्तव्य बनेकाले भारतीय पर्यटक आकर्षित हुने ढकालको विश्वास छ।

बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टप स्टेसन नौ सय ४० मिटरको उचाइमा रहेको छ। बटन स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ।

२ दशमलव ६ किलोमिटर दुरीको लुम्बिनी केबलकारमा  उत्कृष्ट मानिएको अष्ट्रियन प्रविधिको मनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डाला (यात्रु बोक्ने डिब्बा) रहेका आयोजना प्रमुख गोकुल साउदले बताए। ५ अर्ब रुपैयाँ बनेको केबलबारको पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ। 

टप स्टेशनमा पर्यटकका लागि भेज र नन भेज छुट्टाछुट्टै रेस्टुरेन्ट बनिसकेका छन् भने बाल उद्यान, स्काई जिप लाइन निर्माणको क्रममा छन्।

एक हजार दर कायम गरिएको टिकट शुल्कमा विद्यार्थीलाई ४५ प्रतिशत छुट गरिएको र ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क गरिएको छ। यस्तै फरक क्षमता भएका नागरिकलाई दुईतर्फी टिकट शुल्क ३७५ मात्र कायम गरिएको छ।

उद्घाटनका अवसरमा सीमित अवधिका लागि नेपाली नागरिकलाई दुईतर्फी ७५०, भारतीयलाई भारु ७५० र तेस्रो मुलुकका विदेशीलाई २२ अमेरिकी डलर कायम गरिएको प्रालिले जनाएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.