|

काठमाडौँ : सामाजिक सञ्जाल फेसबुकमा ‘घरजग्गा लोन सेवा’ पेज बनाई ठगी गर्ने सिन्धुपाल्चोक मेलम्चीका एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

वास्तविक नाम लुकाएर तीनवटा नक्कली नाम राखेर ठग्दै आएका मेलम्ची नगरपालिका–११ का २७ वर्षीय रामचन्द्र चालिसे काठमाडौँबाट पक्राउ परेका हुन्। चालिसेले आफ्नो वास्तविक  नाम ढाँटेर नकुल चालिसे, आकाश भट्टराई र आर.एन. क्षेत्री नामले ठगी गर्ने गरेको खुलासा भएको छ।

उनलाई काठमाडौँको बसुन्धाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर टेकुका सूचना अधिकारी प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए। ऋण चाहिएमा तुरुन्तै सम्पर्क गर्नुहोस् भन्दै विभिन्न व्यक्तिलाई विश्वासमा लिएर विभिन्न चेक तथा नगद गरी ५७ लाख २० हजार रुपैयाँ ठगी गरेको पाइएको छ।

निजले उत्तम कुमार, राजकुमार तामाङ, सोनुबाबु लामा, विष्णु क्षेत्री, गणेशबहादुर खड्का लगायतका व्यक्तिहरूलाई विश्वासमा लिएर ठगी गरेको अनुसन्धानका क्रममा खुलेको छ।

उनले अर्काको नामको नागरिकता समेत दुरुपयोग गरेको खुल्न आएको छ। पक्राउ परेकामाथि ठगी तथा बैंकिङ कसूर मुद्दामा अनुसन्धान भइरहेको छ। प्रहरीले उल्लिखित व्यक्तिबाट ठगिएका पीडितहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँ टेकुमा सम्पर्क गर्न समेत भनेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.