|

पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रदान गर्न थालेको छ।

नवनिर्मित भवनको पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक समारोहकाबीच शुक्रबार उद्घाटन गरेका छन्। एमाले विकास गर्ने पार्टी भएको उनले बताए। भ्रष्टाचार विरोधि पार्टी एमाले हो। विकास अरु पार्टी गर्दैनन्। एमालेले मात्रै गर्छ भन्ने नमुना कालीगण्डकीले प्रस्तुत गरेको ओलीले बताए। जनतामैत्री भएर सेवा प्रदान गर्न एमालेका जनप्रतिनिधिले काम गर्नुपर्छ। शोषक होइन, सेवक भएर काम गर्न उनले निर्देशन दिए।

पूर्वमन्त्री तथा एमाले केन्द्रीय सचिव पद्मा अर्यालले यहाँ भइरहेको विकासबारे अन्य पालिकाले सिको गर्न आवश्यक रहेको बताइन्। छोटो समयमा यहाँको सर्वाङ्गिण विकास भएको उनले बताइन्।

यहाँको विकास नमुनायोग्य रहेको छ। विकास निर्माणका काममा सबै दल मिलेर अगाडि बढ्नुपर्ने गण्डकी प्रदेश सांसद महेश भट्टराइले बताए। उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्।

गाउँपालिकाका जनताको साथ सहयोगले यहाँका विकास गर्न सफल भएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए।

थापा अध्यक्ष पदमा दोस्रो पटक विजयी भएका हुन्। यहाँ उपाध्यक्ष पदमा पनि साबित्रा कोइराला दोहोरिएकी छन्।

पहिलो कार्यकालमा सात अर्ब ५० करोड खर्च गर्ने लक्ष्य थियो। सरकार धेरै समय नटिक्दा र कोभिडका कारण साढे ५ अर्ब खर्च गर्न सफल भएको थापाले सुनाए।

७ करोड ४८ लाख ७९ हजार १८ रुपैयाँमा यो भवन निर्माण कार्य सम्पन्न भएको हो। २६ रोपनी जमिन यहाँका स्थानीयले निशुल्क प्रदान गरेको उनले बताए। उनकाअनुसार ३२ वटा सुविधा सम्पन्न कोठा रहेका छन्। क्यान्टिन र गेष्ट रुम समेत निर्माण गरिएको छ। अब बाँकी जमिनमा सिटी हल र थप गेष्ट रुम निर्माण गर्ने काम भइरहेको थापाले बताए।

भवन निर्माणको लागि संघीय सरकारले केही सहयोग नगरेको उनले गुनासो गरे। ३ करोड २६ लाख ६९ हजार गण्डकी प्रदेश सरकार र ४ करोड २२ लाख १० हजार १८ गाउँपालिका आफैको स्रोतबाट भवन निर्माण कार्य सम्पन्न भएको अध्यक्ष थापाले बताए।

गाउँपालिकाको हरेक विकासमा यहाँका जनताले आवश्यकताअनुसार जस्तोसुकै सहयोग गरिरहेको हुँदा अपेक्षाकृत विकास गर्न सफल भएको उपाध्यक्ष कोइरालाले बताइन्।

सुविधा सम्पन्न नयाँ भवन निर्माण भएपछि आफूहरूलाई काम गर्न सहज भएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले बताए। ‘हामीलाई मात्र होइन्, यहाँ आउने सेवा ग्राहीलाई समेत सेवा लिन सहज भएको छ’, उनले भने, ‘समयमै प्रभावकारी सेवा दिने गरी कर्मचारीले काम गर्नेछन्। कार्यालयलाई आधुनिक र प्रविधिमैत्री बनाउने गरी काम भइरहेको पाण्डेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.