काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट पारित गर्नका लागि सत्ता साझेदार दलहरूलाई अर्बौँ रुपैयाँ दिने सम्झौता गरेको गम्भीर आरोप लागेको छ।
आफ्नै पार्टी नेपाली कांग्रेसका सांसदहरूले समेत यो बजेट पारित हुन नसक्ने बताएको र सत्ता साझेदार जसपाका अध्यक्ष उपेन्द्र यादवले पनि असहमति जनाएपछि अहिले अर्थमन्त्रीले बजेट पारित गर्नका लागि सत्तासाझेदार दललाई अर्बौँ रुपैयाँ दिने सम्झौता गरेको सत्तासीन एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आरोप लगाएका हुन्।
‘अर्थमन्त्री स्वयंले पनि म तपाईँहरूको पार्टीलाई यति अर्ब दिन्छु। कमसेकम तपाईँहरू चुप लाग्दिनुस् भनेर आन्तरिक रूपमा सम्झौता गर्दै हिँड्नुभएको छ भन्ने बाहिर आइराछ, यो कुरालाई कसरी लिने हो ?’‚ उनले भने।
भौतिक पूर्वाधारतर्फको ५ अर्ब रुपैयाँमध्ये २ अर्ब ३२ करोड रुपैयाँ कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र गोरखा र अर्थमन्त्री महतको जिल्ला नुवाकोटमा खन्याइएको र बाँकी देशभर २ अर्ब ६८ करोड बजेट बाँडिएको भन्दै उनले यो निर्णय नसच्याएसम्म बजेट पास हुन नसक्ने जिकिर गरेका छन्।
‘डलेल्धुरामा १ अर्ब १० करोड, गोरखामा ५५ करोड, नुवाकोटमा ६७ करोड अनि बाँकी ७४ जिल्लामा २ अर्ब ६८ करोड अनि यो न्यायोचित हुन्छ त?’‚ उनले थाहाखबरसँग कुरा गर्दै भने, ‘यस्ता कुरामा सच्चिनुपर्छ।’
योदेखि पार्टीगत रूपमा जिम्मेवारी लिएको मन्त्रालयमा पनि यस्ता खालका गतिविधि देखिएको भन्दै उनले यसमा पनि सच्चिएर जानुपर्नेमा जोड दिएका छन्।
अर्थमन्त्रीले आफूहरूको माग संशोधन हुने गरी बजेट संशोधन नगरे पाण्डेले सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।