|

काठमाडौँ : विक्रम लामाको निर्णायक गोलको सहयोगमा शनिवार थ्री स्टार क्लबले जावलाखेल युथ क्लबमाथि १–० को रोमाञ्चक जित निकाल्दा रेलिगेशनबाट बचेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको सिजनको अन्तिम खेलमा थ्री स्टारले जावालखेलमाथि जित निकाल्दा रेलिगेशन संकट टरेको हो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा विक्रमले खेलको ८३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। विक्रमको यो करियरको अन्तिम खेल समेत हो।

जावलाखेलका प्रमिन श्रेष्ठले पेनाल्टी क्षेत्रमा विक्रमलाई खराब ट्याकल गरेपछि प्राप्त पेनाल्टी अवसरलाई विक्रमले नै गोलमा परिणत गर्दै टोलीलाई रेलिगेशनबाट बचाउन सफल भएका थिए।

यो जितसँगै थ्री स्टार रेलिगेशनबाट जोगिएको छ। थ्री स्टारले २६ खेलमा ३२ अंक जोड्दै नवौँ स्थानमा उक्लिएको छ। थ्री स्टारको जितले विभागीय टोली एपीएफ क्लब भने रेलिगेशनमा परेको छ। २०६२ सालबाट ‘ए’ लिग खेलिरहेको एपीएफ पहिलोपटक ‘बी’ डिभिजन लिगमा घटुवा भएको हो।

उता जावलाखेलले भने हारबाट सिजनको अन्त्य गरेको छ। जावलाखेलले २६ खेलमा ३७ अंक जोड्यो। जावलाखेलले चौथो स्थानमा रहँदै सिजनको अन्त्य गरेको छ।

लिगअन्तर्गत शनिवार नै दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले एक गोलको अग्रता उल्टाएर मनाङलाई ३–१ गोल अन्तरले पराजित गर्‍यो। मच्छिन्द्रको जितमा आफिज ओलावाले दुई र विमल घर्ती मगरले एक एक गोल गरे। मनाङका विजय श्रेष्ठले १६ औं मिनेट शुरुवाती अग्रता निकालेका थिए। खेलको ८० औं मिनेटमा ओलावालेले गोल गर्दै मच्छिन्द्रलाई १–१ गोलको बराबरीमा ल्याउँदा ८६ औं मिनेटमा विमलले गोल गर्दै मच्छिन्द्रको अग्रता उल्टाएका थिए। 

त्यसपछि खेलको इन्जुरी समयमा ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रलाई ३–१ को जित दिलाए। यो जितसँगै लिगको उपविजेता मच्छिन्द्रले सिजनको सुखद अन्त्य गरेको छ। मच्छिन्द्रले २६ खेलमा ४५ अंक जोड्यो।

मनाङले भने हारबाट सिजनको अन्त्य गरेको छ। मनाङले २६ खेलमा ३२ अंक जोड्यो।

शनिवारकै अर्को खेलमा संकटा र न्युरोड टिम एनआरटीले १–१ को बराबरी खेल्दै सिजनको अन्त्य गरेका छन्। पहिलो हाफको इन्जुरी समयमा नेल्शन कोनफरले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए तर खेलको ८९ औं मिनेटमा विक्रम धिमालले गोल गर्दै एनआरटीलाई १–१ गोलको बराबरीमा ल्याएसँगै खेल बराबरीमा टुङ्गिएको थियो।

यो बराबरीसँगै संकटाले २६ खेलमा ३२ अंक जोडेको छ। एनआरटीले २७ खेलमा ३४ अंक जोड्दै सिजनको समापन गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.