|

बैतडी : जिल्लामा स्वास्थ्य बीमा गर्नेको संख्या बढ्दै गएको छ। स्वास्थ्य बीमाको फाइदाका बारेमा जानकारी प्राप्त भएपछि स्वास्थ्य बीमामा आकर्षण बढ्दै गएको हो

यहाँ सात वर्षको अवधिमा ३३ हजारभन्दा बढी परिवार स्वास्थ्य बीमा आबद्ध भएका छन्।   जिल्लामा वि स २०७३ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएकोमा हालसम्म ३३ हजार दुईसय १७ परिवार आबद्ध भएका हुन्। 

 स्वास्थ्य बीमा बोर्ड कार्यालय बैतडीका प्रमुख जमन बडालका अनुसार तीन हजार चारसय ८६ परिवार मात्रै शुल्क तिरेर कार्यक्रम आबद्ध भएका छन् भने अन्य परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ। उनले भने,’निःशुल्क स्वास्थ्य बीमा गरिनेमा जेष्ठ नागरिक,एचआइभी संक्रमित,कुष्ठरोगी, अपांगता भएका व्यक्ती, महिला स्वास्थ्य स्वयंसेविका रहेका छन्। उहाँहरूको सरकारले नै बीमाबाफत लाग्ने शुल्क बोर्डलाई तिरिदिन्छ।’

यस्तै २६ हजार सातसय ४० परिवार जेष्ठ नागरिक, (क) वर्गका अपांगता भएका व्यक्ति एक हजार ४४ परिवार,  तीनसय एक एच आइभी संक्रमित, ५४जना कुष्ठरोगी, एकसय २२  एमडीआर टिभी भएका र सातसय ३५  महिला स्वास्थ्य स्वयंसेविकाका परिवार स्वास्थ्य बीमामा आबद्ध रहेका छन्।   

स्वास्थ्य बीमामा आबद्ध हुन चाहने नागरिकले ५ जना सम्मको परिवार सदस्यका लागि वार्षिक ३ हजार ५ सय प्रिमियम तिर्नुपर्ने र त्यो बाफत एक लाख बराबरको उपचार निःशुल्क पाइने गरेको छ। ५ जनाभन्दा बढी सदस्य भएको परिवारले प्रति सदस्य सात सय ५० थप प्रिमियम बुझाउनुपर्ने र उनीहरूले थप २० हजारका दरले उपचार सुविधा पाउने गरेका बोर्डले जनाएको छ।

स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकले सूचीकृत स्वास्थ्य संस्थाबाट निःशुल्क रुपमा उपचार सेवा पाउने गरेका छन्। बैतडीमा जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र पाटन  र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र सूचीकृत स्वास्थ्य संस्थाको रुपमा रहेका छन्। यी संस्थाहरूमा उपचार हुन नसकेमा रेफर गरिएका अन्य अस्पतालहरूमा पनि निःशुल्क उपचार हुने गरेको छ।

गरिब नागरिकहरूको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि सरकारले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएको प्रमुख बडालले बताए। उनले भने,'  सरकारको लक्ष्यअनुसार नै हामीले पनि यो कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाइरहेका छौं। यो आर्थिक भित्र लक्षित परिवार सबै आबद्ध गराउने योजना बनाएका छौं।’

स्थानीय नागरिकमा स्वास्थ्यप्रति भएको जनचेतनाको कमी, भौगोलिक कठिनाइका कारण स्वास्थ्य बीमा कार्यक्रम  प्रभावकारी रुपमा अगाडि बढाउन कठिन भएको जनाएको छ। 

बैतडीमा वि स २०७३ फागुनदेखि स्वास्थ्य बीमाको सेवा सुरु भएको थियो। स्वास्थ्य बीमा कार्यक्रमका लागि यहाँका १० वटै स्थानीय तहहरूमा गरेर हाल ८३ जना दर्ता सहयोगी  परिचालन रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.