काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि कांग्रेससँग छलफल भइरहेको बताएका छन्।
आइतबार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले पहिलादेखि नै कांग्रेस र एमाले मिलेर कोशी प्रदेश सरकार निर्माण गर्नुपर्छ भनेको भए पनि ठूलो पार्टीलाई निषेध गरी संविधान मिच्ने काम सत्ता गठबन्धनबाट भएको बताए।
उनले प्रदेशप्रतिको वितृष्ण बढेर जाने र नयाँ चुनावमा जानुपर्ने स्थिति अहिले नै आउँदा देशको अर्थतन्त्रमा समस्या पर्ने भन्दै कांग्रेसले समाधानको बाटोमा जानुपर्ने बताए। उनले प्रदेशको हित र संविधानको रक्षाका कांग्रेसले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्ने बताए।
उनले भने, ‘हामीले कोशी प्रदेश सरकार गठनका लागि काँग्रेससँग छलफल गरिरहेका छौँ। पहिलादेखि नै हामीले उहाँहरुलाई भनेको त्यही नै थियो। त्यहाँ जुन ढंगको शक्ति अवस्था छ, निषेध गरेर जाने खालको बाटोमा नजाऔँ। नेपाली कांग्रेसले जिम्मेवार भूमिका खेलोस्। हामी प्रारम्भिक चरणको कुराकानीमा छौँ। अहिले नै कुनै संकेत छैन, प्रदेशको हीत र संविधानको रक्षाका लागि त्यसो गर्नु राम्रो हुन्छ।’
उपमहासचिव ज्ञवालीले प्रधानमन्त्रीले आसन्न चीन भ्रमणको विषयलाई लिएर सुझावहरु मागेको र आफूले चीनसँग विश्वास बटुलेर आउन सुझाव दिएको बताए। उनले नेपाल र चीन सम्बन्ध सन्तुलित छिमेक सम्बन्धको बाटोबाट अन्यत्र लागेको हो की भन्ने शंका चिनियाँहरुले गरिरहेको भन्दै त्यसलाई प्रधानमन्त्रीले चिर्नुपर्ने बताए। उनले उचस्तरीय भ्रमणको क्रममा यसअघि भएका सम्झौता कार्यान्वयनमा जोड दिन आग्रह गरेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।