आशिषको स्कोरमा आयोजक स्तब्ध

|

ललितपुर : तेस्रो पुष्पसदन कप काठमाडौँ उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा लिटिल एन्जल्स, ब्राइट होराइजन र रेडिएन्ट पब्लिक विजयी भएका छन्। आशिष थापामगरको उत्कृष्ट स्कोरका साथ मेगस स्कुलले आयोजक पुष्पसदन स्कुललाई निराश बनाइदिएको छ। 

कीर्तिपुरस्थित आफ्नै घरेलु कोर्टमा सम्पन्न खेलमा पुष्पसदन मेगससँग ४८–४० को स्कोरले पराजित भयो। खेलको सर्वाधिक स्कोरकर्ता मेगसका आशिष थापामगर भए। उनी एक्लैले ३७ स्कोर गरेका छन्। यसअघि आइतबार पनि उनले नै राराहिललाई पराजित गर्न ठूलो स्कोर ५९ स्कोर गरेका थिए। 

प्रतियोगिताको सिनियर ब्वाइजतर्फ लिटिल एन्जल्सले जनसेवा स्कुललाई ३४–२३ को स्कोरले हरायो। खेलमा ११ स्कोर गरेका एलएका लक्की महर्जन सर्वाधिक स्कोरर बने। 

सिनियर र जुनियर ब्वाइजतर्फ रेडिएन्ट पब्लिक र ब्राइट होराइजन स्कुलका दुवै टिमले आ-आफ्ना खेल जितेका छन्। 

सिनियर ब्वाइजतर्फ रेडिएन्ट पब्लिकले स्वर्णीम स्कुललाई ३४–१४ स्कोरले पाखा लगाएको छ। यो खेलमा रेडिएन्टका रोहित चौधरी सर्वाधिक स्कोरर बने। उनले ८ स्कोर गरे। 

जुनियर ब्वाइजतर्फको खेलमा रेडिएन्ट पब्लिकले भ्याली भ्यु स्कुललाई २०–६ को अन्तरले पाखा लगायो। ८ स्कोर गरेका विधान  सर्वाधिक स्कोरर बने। 

पुष्पसदन कपअन्तर्गत नै सिनियर ब्वाइजतर्फ भ्याली भ्युले एभिएमलाई ३९–१५ स्कोरले हराएको छ। खेलमा सबैधन्दा धेरै स्कोर भ्याली भ्युका गणेशले १४ स्कोर गरे। 

सिनियर ब्वाइजतर्फ नै ज्ञानोदय स्कुलले मंगल माविलाई ३८–२७ को स्कोरले हराएको छ। पराजित मंगलका सक्षम मर्हजनले सर्वाधिक १६ स्कोर गरे। 

प्रतियोगितामा सिनियर ब्वाइजतर्फ १६, जुनियर ब्वाइजतर्फ ८ र गर्ल्स (३×३) तर्फ २४ टिम गरी जम्मा २५ ओटा विद्यालय सहभागी भएका छन्। आगामी असोज ८ गतेसम्म चल्ने प्रतियोगिता लिग कम नकआउटको आधारमा खेलाइएको छ। 

प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई ट्रफी, मेडल र सर्टिफिकेट प्रदान गरिनेछ भने प्रतियोगिताका बेस्ट प्लेयर, इमर्जिङ प्लेयर र फेयर प्लेका लागि पनि विशेष पुरस्कार राखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.