|

काठमाडौं : राष्ट्रिय शिक्षा दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘समावेशी र सीपमुलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नारासहित दिवस मनाउन लागिएको हो। 

सरकारले २०८० जेठ ९ गते हरेक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेअनुसार आज पहिलो दिवस मनाउन लागिएको हो। अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि ऐन, २०७५ प्रमाणिकरण भएको दिन असोज २ गतेलाई दिवसको रुपमा मनाउने सरकारले निर्णय गरेको थियो। 

राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा शिक्षा मन्त्रालयले विभिन्न विद्यालय, क्याम्पस तथा शैक्षिक संस्थालाई पुरस्कृत गर्दैछ। मन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसारदेशैभरका सार्वजनिक विद्यालयतर्फ कमला माध्यमिक विद्यालय, मैनी, दुधौली–११, सिन्धुलीले प्रथम पुरस्कार पाउने भएको छ । यो विद्यालयले तीन लाख रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्नेछ । सिन्धुलीकै कमलामाई–४ मा रहेको कमला माध्यमिक विद्यालय, ढुंग्रेवास दोस्रो भएको छ । उसले २ लाख रुपैयाँ पुरस्कार पाउनेछ। तेस्रो भने सल्यानको कुमाख–२ मा रहेको नारायण माध्यमिक विद्यालय भएको छ। 

यो विद्यालयले १ लाख पुरस्कार पाउनेछ । निजी विद्यालयतर्फललितपुर महानगरपालिका ५ मा रहेको प्रसादी एकेडेमी माध्यमिक विद्यालय प्रथम भएको छ। यस्तै काठमाडौंको माइतीघरमा रहेको सेन्ट जेभियर्स दोस्रो र बूढानीलकण्ठ–५ मा रहेको बूढानीलकण्ठ स्कूल तेस्रो भई क्रमशः३, २र १ लाख पुरस्कार पाउने भएको छ। 

प्राविधीकतर्फ कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, तामनगर, रूपन्देही, मनमोहन मेमोरियल पोलिटेक्निक, बुढीगङ्गा, मोरङ र लाईफ लाइन अस्पताल प्रालि, दमक, झापाले १÷ १ लाख रुपैयाँ पुरस्कार पाउने मन्त्रालयले जारी गरेको सूचिमा उल्लेख छ। 

यस्तै सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने आदर्श माध्यमिक विद्यालय, विराटनगर, मोरङ पनि उत्कष्ट भई १ लाख रुपैयाँ पुरस्कार पाउनेछ। विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमध्ये उत्कृष्ट भइ पुल्चोक क्याम्पस, ललितपुरले दुई लाख पचास हजार रुपैयाँको पुरस्कार पाउने भएको छ। 

विश्वविद्यालयका सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरू मध्ये उत्कृष्ट  हुनेमा लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल, रूपन्देही रहेको छ । ३ लाख रुपैयाँको समाजकल्याण शिक्षा पुरस्कारका लागि एसओएस बालग्राम, मध्येपुर ठिमी भक्तपुर र कोपिला भ्याली सेवा समाज, वीरेन्द्रनगर सुर्खेत छनोटमा परेका छन्। 
यस्तै असहाय बालबालिकालाई पालन पोषणसहित शिक्षा प्रदान गर्ने बाल साराथी एकेडेमी काठमाडौंकी अध्यक्ष माला खरेललाई पनि १ लाख रुपैयाँको पुरस्कार दिने शिक्षा मन्त्रालयले जनाएको छ।

शिक्षा दिवसका अवसरमा  सरकारले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने  ९६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको छ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मङ्गलवार विभूषित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित गरेको जानकारी दिएको हो।

विभूषित हुनेहरूमा नेपाल विद्या भूषण क तर्फ ७९० जना, नेपाल विद्या भूषण ख तर्फ ७१, नेपाल विद्या भूषण ग तर्फ ४४ जना, नेपाल छात्रा विद्या पदक क तर्फ २८ जना, नेपाल छात्रा विद्या पदक ख तर्फ १८ जना र नेपाल प्रविधि विद्या भूषण तर्फ ११ जना गरी कुल ९६२ जनालाई विभूषित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.