म्याग्दी : करिब साढे २०० वर्ष पुरानो मानिएको बर्खे नाच सोमबार भगवान् श्रीकृष्णले लाखेको बध गरेसँगै अन्त्य भएको छ।
भक्तपुरबाट करिब २५० वर्षअघि आएका नेवार समुदायसँगै भित्रिएको बर्खे नाच अन्तर्गत बेनीमा हरेक वर्ष नागपञ्चमीका दिनदेखि तीजसम्म विभिन्न नाचका साथै लाखे नाच देखाइन्छ।
परापूर्वकालमा समाजमा दुःख दिने घण्टाकर्ण नाम गरेको राक्षसको प्रतिमालाई म्याग्दी नदी र कालीगण्डकीको दोभानमा लगेर विर्सजन गरिएपछि बेनीमा वर्षे नाच शुरु भएको थियो। एक महिनासम्म विभिन्न नाच देखाएर परम्परागत संस्कृति रक्षाको प्रयास गरिन्छ।
पति वियोगमा विक्षिप्त बनेकी घण्टाकर्णकी श्रीमतीको चरित्र लाखे नाचमा प्रदर्शन गरिन्छ। ठूला–ठूला आँखा भएकी, दाह्रा निस्केकी, जगल्टा फिँजाएकी देख्दै डरलाग्दी घण्टाकर्णकी श्रीमतीलाई लाखेको संज्ञा दिएर प्रदर्शन गरिने यो नाँच बेनीको प्रसिद्ध नाच हो।
बर्खे नाचको शुरुवात लाखेको पति अर्थात् घण्टाकर्ण नामक राक्षसको पुतलादहन गरेर हुन्छ भने तीजको साँझमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णरूपी शक्तिले बध गरेपछि यो नाच अन्त्य गरिन्छ।
हिन्दू धर्मग्रन्थमा वर्णित द्वापरयुगामा भगवान श्रीकृष्ण र उनका मामा कंसबीचको लडाइको अभिनय गरी यो नाच नाच्ने गरिन्छ। नेपाल भाषा वंशावली अनुसार लाखे नाचको चलन राजा गुणकामदेवले शुरु गरेको बताइए पनि राजा प्रताप मल्लका पालादेखि मुकुट लगाएर लाखे नाच्ने गरिएको नेवार समुदायका अगुवा बताउँछन्।
बेनीमा लाखे नाच, गोरु नाच, रोपाइँ नाच, जोगी नाच, नागानागिनी नाच, श्रीकृष्ण रथयात्रासहित विविध नाच देखाइन्छ। जनशक्तिको अभाव हुन थालेपछि हनुमान नाच र रोपाइँ नाच भने लोप हुने अवस्थामा छ।
तीजको दिनमा दिनभर बेनीबजारका विभिन्न क्षेत्रमा लाखे नाच प्रदर्शनपश्चात् साँझ संगमचोकमा ‘तरबार लडाइँ नृत्य’मा श्रीकृष्णले दानवीय स्वरूपको लाखेको बध गरेपछि बर्खे नाच समापन गर्ने चलन रहेको नेपाल भाषा मंकाःखलका कार्यवाहक अध्यक्ष कुविरकुमार श्रेष्ठले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।