रुपन्देही : सोमबार राति रुपन्देहीको तिलोत्तमामा दुई मजदुर समूहबीच विवादपछि भएको झडपमा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
मदिरा सेवन गरी मजदुरहरू धारिलो हतियारसहित आपसी झडपमा उत्रिएका थिए। तिलोत्तमा नगरपालिका वडा नम्बर ९ केरवानीमा मजदूरी काम गर्दै आएका दुई पक्षबीच सोमबार राति झडप भएको हो।
झडपका क्रममा हेटौडा घर भई रुपन्देहीको मंगलपुरमा बस्दै आएका सुरेश साङताङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। साङताङको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो।
झडपका क्रममा घाइते हुनेहरूमा काठमाडौँ महानगरपालिका–१ बस्ने विकास वाइबा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ रहेको प्रहरीले जनाएको छ। घाइते तीनै जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
झडपमा संलग्न रहेको आशङ्कामा १३ जना मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी नायब उपरीक्षक थापाले घटनाको अनुसन्धान भइरहेको बताएका छन्। स्थानीयले मकवानपुरे र नुवाकोटे समूहका नाममा झडप भएको बताए पनि प्रहरीले भने यस बारेमा केही उल्लेख गरेको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।