|


पर्वत : शिक्षा दिवस होस वा बाल दिवस होस, शिक्षा र बालबालिकाका सन्दर्भमा पर्वतका मुस्लिम समुदायले आफूहरू गरिब भएकै कारण शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका अवसरहरूबाट वञ्चित भएको बताउँदै आएका छन्।

‘समावेशी र सीपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नारासहित आज मनाइँदै गरेको राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल, पर्वतको आयोजनामा मदरसा गुल्सने बरकात प्रा.वि.मा आयोजना भएको छलफल कार्यक्रम पनि उनीहरूले यस्तै पिडा पोखे। मदरसाका एक जना अभिभावक मोहम्मद अफिजले बिसौँ वर्षसम्म पढ्दा पनि रोजगारी नपाउने र आफूहरूको समस्याका बारेमा अरूले चासो नदिने गरेका कारण मुस्लिम समुदायका बालबालिकाहरू विद्यालयमा टिक्न छाडेको बताए।

‘आर्थिक कारणले हो वा अरू कारणले हो? हाम्रो समुदायका समस्याहरूको बारेमा सबैले चासो दिनुपर्ने हो। २० वर्षसम्म पढेपछि हामीले के पाएका छौँ? जागिर कहीँ पाइँदैन, हामीलाई चासो र प्राथमिकता दिइँदैन। यही सोचेर हाम्रा सन्तानहरूले ‘स्कुल गएर के हुन्छ र?’ भन्न थालेका छन्’, उनले भने, ‘डाक्टर, इन्जिनियर, शिक्षक बन्नका लागि हामीसँग लगानी छैन। विदेश जान पनि पैसा चाहिने। पैसा भएकैले पढ्ने भए, हामी पैसा नभएका सधैँ तल हुने रहेछौँ।’

अर्का अभिभावक जल्फाकर मिया राज्यले पनि आफूहरूलाई अवहेलना गरेको दाबी गर्छन्। साधारण विद्यालयमा गएर आठ कक्षासम्म पढ्ने छात्राहरूले छात्रवृत्ति पाए पनि सोही विद्यालयमा अध्ययन गर्ने छात्र भने शैक्षिक सामग्री नै किन्न नसक्ने उनी बताउँछन्। निःशुल्क शिक्षा पाइन्छ भनेर संविधानमा लेखेको भन्ने सुनेको भए पनि विभिन्न बहानामा शिक्षा निःशुल्क भने नरहेको मियाको तर्क छ।

सरकारले नीतिगत रूपमा गरेका व्यवस्था सुन्दर र आकर्षक भए पनि ती व्यवस्था कार्यान्वयन नहुँदा समस्यामा परेको समुदायको समस्याका बारेमा सम्बोधन हुन नसकेको अर्का अभिभावक मोहम्मद साहब अलि मिया बताउँछन्। राज्यले धेरै नागरिकलाई सीपमूलक तालिमहरू दिएको भए पनि आफूहरूले अहिलेसम्म पनि त्यो अवसर नपाउनु दुःखद भएको उनको भनाइ छ। ‘सरकारले नीतिगत रूपमा गरेका व्यवस्था त ठिक छन्। तर कार्यान्वयन नहुँदा मुस्लिम समुदाय सधैँ समस्यामा पर्दै आएका छौँ’, मिया भन्छन्, ‘मुस्लिम समुदायले अहिलेसम्म एउटा पनि सीपमूलक तालिमको अवसर पाएको छैन। कुश्माको मुस्लिम समुदायबाट एक जना पनि जागिरमा छिरेको छैन। राज्यले अरू विद्यालयमा किताब बाँड्छ तर हाम्रो मदरसा किताबै नपाएर समस्यामा छ।’

एनसिइ पर्वतका संयोजक यज्ञप्रसाद शर्माले १२ कक्षासम्म र त्यो भन्दा माथिको तहमा मुस्लिम समुदायका बिद्यार्थीहरू देख्न नपाउनुले नै मुस्लिम समुदाय पछाडि पर्दै गएको बताउँछन्। राज्यले सबै नागरिकलाई समान अवसरहरू दिइरहेको भए पनि मुस्लिम समुदाय ती अवसरका बारेमा बेखबर रहने गरेका कारण पनि समस्या भइरहेको उनको भनाइ छ। ‘यो समुदायमा सीपमूलक शिक्षाको आवश्यकता देखिएको छ। सीपकै अभावमा वैदेशिक रोजगारी पनि सफल हुँदैन। मदरसामा अघिल्लो वर्ष ५७ जना विद्यार्थी रहेकोमा यो वर्ष ४० जना मात्रै भएका छन्’, शर्मा भन्छन्, ‘जसोतसो विद्यालय गएका बिद्यार्थीहरू पनि टिक्न सकिरहेका छैनन्। टिकेकाहरू पनि ८÷९ कक्षा वा एसइई पछि थप अध्ययन गर्दैनन्।’

शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्धीमराज पौडेल पनि मुस्लिम समुदायको आवश्यकता अनुसार शिक्षा, ज्ञान र सीप प्राप्त हुन नसकेको बताउँछन्। तर यसको समाधानको लागि प्राप्त स्रोत र साधनहरूको उच्चतम प्रयोग गर्दै विद्यालयको समस्याका बारेमा स्थानीय तहलाई सचेत बनाउनुपर्ने उनको सुझाव छ। शिक्षालाई सीप र सीपलाई श्रमसँग जोड्न सकेमा मात्रै बेरोजगारी समस्याको अन्त्य हुने भन्दै उनले संस्थागत विकासको लागि समुदायको सहयोग र आवश्यकता उत्तिकै महत्त्वपूर्ण हुने पौडेलको भनाइ छ।

सरकारले २०८० जेठ ९ गते हरेक वर्ष असोज दुई गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेअनुसार आज पहिलो दिवस मनाइँदै छ। अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ प्रमाणीकरण भएको दिन असोज दुई गतेलाई दिवसको रूपमा मनाउने सरकारले निर्णय गरेको थियो। तर यही पहिलो शिक्षा दिवसकै बेलामा शिक्षकहरू आन्दोलनमा रहँदा दिवस भने सुनसान बनेको छ।

दिवसका अवसरमा विगतमा विद्यालयदेखि वडा हुँदै स्थानीय तहहरूले विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको भए पनि आजको शिक्षा दिवसमा एकाध बाहेक कार्यक्रमहरू हुन सकेका छैनन्। शिक्षकहरूले समग्र शैक्षिक जगतको सुधारको माग गर्दै आन्दोलनमा उत्रिएको भन्दै कतिपय स्थानीय तहहरूले प्राविधिक समस्याका कारण दिवसको दिनमा कार्यक्रम गर्न नसकिएकोले केही दिनपछि कार्यक्रम गरिने बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.