|

सिख नेता हरदीप सिंह निज्जरको हत्यापछि भारत र क्यानडाबीचको सम्बन्धमा थप तनाव बढेको छ।  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निज्जरको हत्यामा भारत सरकारको हात रहेको आरोप लगाएका छन्।

निज्जरको हत्यामा भारतको भूमिकाको अनुसन्धानलाई ध्यानमा राख्दै क्यानडाले पनि भारतका शीर्ष कूटनीतिज्ञलाई निष्कासन गरेपछि दुई देशबीच तनाव सुरू भएको हो।

यता भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको हो। भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा रहेका क्यानाडका उच्चायुक्तलाई बोलाएर उच्चायोगका एक जना वरिष्ठ कूटनीतिक कर्मचारीलाई निष्कासन गर्ने भारत सरकारको निर्णयबारे जानकारी गराएको छ।

नयाँदिल्लीले निष्कासन गरेका क्यानाडाली कूटनीतिज्ञलाई पाँच दिनभित्रमा भारत छाड्न आदेश दिएको छ । यो निर्णयले भारतको आन्तरिक मामिलामा क्यानाडाली कूटनीतिज्ञहरूको हस्तक्षेप र भारत विरोधी गतिविधिहरूमा उनीहरूको संलग्नता देखिएको विदेश मन्त्रालयका एक जना अधिकारीले बताएका छन्।

तर, क्यानाडास्थित कार्लटन विश्वविद्यालयका प्राध्यापक एवं विदेश नीति विशेषज्ञ विवेक देहेजियाले मङ्गलबार क्यानाडाका प्रधानमन्त्री ट्रुडोले भारतविरुद्ध आधारहीन  आरोप लगाएको र त्यसको विश्वसनीयता शून्यप्रायः भएका टिप्पणी गरेका छन्।

हामीले सबुद–प्रमाण नदेखेसम्म प्राप्त जानकारीलाई आँखा चिम्लेर सत्य मान्न नसकिने बताउँदै प्राध्यापक देहेजियाले लोकतन्त्रमा विश्वास गर्ने विकसित पश्चिमा देशको नेताले स्वतन्त्र भारतको इतिहासमा यस किसिमको आरोप पहिलो पटक लगाएको बताउँदै यसअघि यति उच्चस्तरमा  भारतले क्यानडाको आन्तरिक मामिलामा षड्यन्त्र गरेको नसुनेको जनाएका छन्।

एनआईसँगको कुराकानीमा प्राध्यापक देहेजियाले क्यानडाली जनता वा विश्वका जनतालाई प्रधानमन्त्रीले गरेको दाबीबारे कुनै जानकारी नदिइएको बताए। क्यानाडाको सुरक्षा खुफिया सूचनाका आधारमा प्रधानमन्त्रीले लगाएको आरोप पुष्टि नभएको त्यसमा आधार भएको मान्न नसकिने उनले बताएका छन्। उनले भनेका छन्–प्रधानमन्त्रीको आरोपमा विश्वनीय आधार छैन।

भारतमा पक्राउ गर्नुपर्ने व्यक्तिको सूचीमा रहेका निज्जरको गत जुनमा क्यानडाको ब्रिटिस कोलम्बियामा गोली हानेर हत्या गरिएको थियो। पञ्जाबको जालन्धरको भारसिंहपुर गाउँका निज्जरलाई राष्ट्रिय अनुसन्धान निकाय (एनआई) ले फरार घोषणा गरेको थियो।

केही दिनअघि मात्र ट्रुडो जी–२० सम्मेलनमा सहभागी हुन भारत पुगेका थिए।  भ्रमणका क्रममा ट्रुडोसँगको भेटमा प्रधानमन्त्री नदेन्द्र मोदीले क्यानडामा सिख पृथकतावादी गतिविधि र भारतीय कूटनीतिज्ञमाथि आक्रमणको मुद्दा उठाएका थिए। 

तर, भारत सरकारले निज्जरको हत्याको आरोपलाई अस्वीकार गर्दै आएको छ। ट्रुडो स्वदेश फर्केको केही समयपछि भारतसँगको द्विपक्षीय स्वतन्त्र व्यापार सम्झौतामा वार्ता रोकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.