सुर्खेत : माथिल्लो डोल्पाको एउटा घरबाट हराएका बुद्धका मूर्तिहरु फेला परेका छन्।
गत असार ८ गते शे–फोक्सुण्डो गाउँपालिका-४ का लार्जम लामाको घरबाट हराएका ९ वटा साना तथा ठूला बुद्धका मूर्ति, स्तुप, पुलिक र नगद लुटिएका थिए। ती लुटिएका मूर्ति, स्तुप प्रहरीले बुधबार सार्वजनिक गरेका छ।
असार ८ गते राति अन्दाजी १२ बजे ४/५ जनाको हतियारधारी समूहले लार्जम लामाको घरबाट लुटेका बहुमूल्य मूर्ति, स्तुप करिब ३ महिनापछि डोल्पाबुद्ध गाउँपालिका-३ को फोलोङकार्बो भन्ने ठाउँमा बेवारिसे अवस्थामा फेला परेका हुन्।
फोलोङकार्बो भन्ने स्थानमा सेतो बोरामा निलो कपडाले छोपेको शंकास्पद अवस्थामा भदौ २७ गते घाँस काट्न गएका स्थानीयले देखेर प्रहरीलाई खबर गरेपछि प्रहरीले नियन्त्रण लिएर हेर्दा हराएका मूर्ति भेटिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।
डिएसपी बुढाथोकीका अनुसार लुकाएर राखिएको बोरामा बुद्ध स्तुप १ थान, धातुका जस्ता देखिने विभिन्न मूर्तिहरु ७ थान गरी ८ थान बेवारिसे अवस्थामा ओढारमा फेला परेको बताए।
धो प्रहरी चौकीले स्थानीयको रोहबरमा लाहाछाप गरी ल्याएका मूर्ति, स्तुपलगायत जिल्ला प्रशासन कार्यालय डोल्पाले बुधबार सार्वजनिक गरेको हो।
असार ८ गते राति शे–फोक्सुण्डो-४ बाट हराएका स्तुप र मूर्तिहरु डोल्पोबुद्ध गाउँपालिका-३ मा बेवारिसे फेला पर्नुले चोरले सुरक्षा चेक पोइन्टहरुबाट जिल्ला बाहिर लैजान सक्ने अवस्था नभएपछि लुकाई राखेको र स्थिति सामान्य भएपछि बाहिर लैजाने तयारी रहेको प्रहरीको निष्कर्ष छ।
‘स्तुप, मूर्ति फेला पर्नु सकारात्मक पक्ष हो तर उपलब्धि होइन‚ अभियुक्त फेला नपरेसम्म प्रहरी निरन्तर लागिरहन्छ तर राजनीतिक दल र स्थानीयको सहयोगको खाँचो छ‚’ डिएसपी बुढाथोकीले भने।
प्रहरीले फेला पारेका मूर्ति, स्तुपमध्ये ६ वटा शे–फोक्सुण्डो गाउँपालिका-४ लार्जम लामाको भएको भनि लार्जम लामाकी छोरी वर्ष ३६ की पेम्बा पुटिक लामाले सनाखत गरिदिएको र अन्य २ मूर्ति कुन गुम्बाका हुन् भन्नेबारे अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।
डिएसपी बुढाथोकीका अनुसार फेला परेका मूर्ति कानुनी प्रकृयाअनुसार पुरातत्त्व विभागमा पठाएपछि प्रमाणित हुने भएकोले थप अनुसन्धान गरिने बताए। माथिल्लो डोल्पामा सुरक्षा व्यवस्था सुदृढ नभएका कारण सयौँ वर्ष पुराना बहुमूल्य मूर्तिहरु चोरी हुने गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।