|
file photo

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपालको परराष्ट्र नीतिमा साझा सहमति बनाएर राष्ट्रिय प्रतिवद्धता व्यक्त गर्ने अवस्था बनाउनुपर्ने बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले समितिबाट यसअघि नै परराष्ट्र नीतिको मस्यौदा पास भइसकेको र अहिले आवश्यक भए पुनः छलफल गरी सबै दलबीच साझा सहमति बनाउनुपर्नेमा जोड दिए।

उनले दलहरुबीच देशभित्र आन्तरिक द्वन्द्व भए पनि परराष्ट्र नीतिमा भने एक हुनुपर्ने बताए। उनले राष्ट्रिय सुरक्षा नीतिको बारेमा पनि साझा सहमति बनाउनुपर्ने बताए।

उनले भने, ‘हामीले दुई वटा कुराहरु दस्ताबेजहरु पास गरेका थियौँ। एउटा परराष्ट्र नीतिको बारेमा थियो। त्यसलाई पुनः हेर्नुपर्ने छ भने हेरौँ। त्यसको कार्यान्वयनमा जोड दिऔँ। सबै पार्टीको बीचमा साझा सहमति बनाएर राष्ट्रिय हाम्रो प्रतिबद्धता व्यक्त गर्ने अवस्था बनाउनुपर्छ। किनभने भारतमा भित्र आन्तरिक द्वन्द्व हुन्छ तर परराष्ट्र नीतिमा एक हुन्छन्। त्यस्तै स्थिति नेपालमा सिर्जना गर्नुपर्छ। त्यस्तै राष्ट्रिय सुरक्षा नीतिको बारेमा पनि हामीले अघि बढाउनुपर्छ।'

समितिको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले परराष्ट्र नीति साझा सहमति हुन आवश्यक रहेको बताए। उनले भारत, चीन, अमेरिका, बेलायत लगायतका देशहरुबाट आइरहेको डेलिगेशनमा अपडेट हुनुपर्ने बताए।

समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद दामोदर पौडेल बैरागीले परराष्ट्र नीतिको बारेमा सबै प्रष्ट हुनुपर्ने बताए। उनले युक्रेन—रुस युद्धताका नेपालले लिएको निर्णयलाई लिएर विभिन्न आशंका उब्जिएको भन्दै त्यसको लागि पनि साझा सहमतिमा परराष्ट्र नीति बनाउनुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.