'आज जसरी पनि वार्ता सफल बनाउने तयारीमा सरकार'

|

काठमाडौं : बिहानैदेखि चलेको सरकार र आन्दोलनरत् शिक्षकहरू बीचको वार्ता गृह मन्त्रालयमा जारी छ। बिहानैदेखि वार्ता भइरहँदा पनि अझै सहमति जुट्न नसकेको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ।

शिक्षामन्त्री अशोककुमार राईका स्वकीय सचिव झिल खिम्बुले राईले शिक्षक महासंघको वार्ता टोली नहुँदा थप छलफल गर्नमा समस्या भएको जानकारी दिए। ‘महासंघको वार्ता टोली समिति नहुँदा केही समस्या देखिएको छ,उहाँहरूमा पनि केही दलगतका मान्छेहरू भएकाले  खटपट रहेछ,उहाँहरू वार्ता समितिको लागि मिलाउँदै हुनुहुन्छ,त्यही भएर वार्ता लम्बियो,वार्ता भने जारी छ,’उनले थाहाखबरसँग भने।

उनका अनुसार वार्तामा गृहमन्त्री,शिक्षामन्त्री,नेपाल शिक्षक महासंघका प्रतिनिधिलगायत पदाधिकारीहरू सहभागी छन्। उनले सरकारबाट भने आज नै जसरी पनि वार्ता टुंग्याउने पक्षमा रहेको जानकारी दिए। उनले भने,‘सरकार भने कुनै हालतमा पनि आज छलफल गरी वार्ता टुंग्याउने पक्षमा छ।’ 

कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पनि विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरूसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउने गरी सरकारी वार्ता टोलीलाई सुझाव तथा निर्देशन दिएका छन्।

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक विरूद्ध असोज ३ गतेदेखि देशभरका शिक्षकहरू आन्दोलित छन्। सामुदायिक विद्यालय नै बन्द गरी आज पनि उनीहरू माइतीघर मण्डलामा आन्दोलनमा सहभागी भइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.