|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि व्यक्त गरेका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विधेयकमा संशोधन हाल्न सुरु भएपछि आफूले पनि ७० भन्दा बढी ठाउँमा संशोधन हाल्नुपर्ने अवस्था देखेको बताए।

उनले विद्यालय शिक्षा विधेयकमा धेरै त्रुटी रहेको भन्दै संसदबाट सच्याएर मात्रै पारित हुने बताए। उनले अहिले बनाउने कानुनले आजको समस्या मात्र नभइ कम्तिमा २० वर्षसम्म हेर्नसक्ने गरेर कानुन बन्नुपर्ने बताए। उनले नेपालको शिक्षा क्षेत्र सुधार गर्न नेपालमा सबैभन्दा धेरै पारिश्रमिक शिक्षण पेसामा हुनेहरूले पाउनुपर्ने बताए।

उनले शिक्षकले प्राप्त गर्नुपर्ने न्यूनतम् कुरा अहिले कानुन बन्दै गर्दा पनि दिन नसके विद्यालयलाई शिक्षालाई उकास्न नसकिने बताए। सरकारले चाँडो भन्दा चाँडो शिक्षकका माग पूरा गरेर विद्यार्थीले पढ्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।

‘आज अफ्ठ्यारो माहोल छ। विद्यालयहरू बन्द रहेको अवस्था छ । शिक्षक साथीहरू संघर्षमा हुनुहुन्छ । आज नेपाल सरकार र उहाँहरूको बीचमा संवाद पनि चलिरहेको छ । केही सकारात्मक निष्कर्ष आउँछ भन्ने हाम्रो विश्वास छ । हामी लामो समयदेखि नेपालको शिक्षाको सुधार गर्ने पक्षमा थियौँ । हामी के भनिरहेका थियौँ भने यो धेरै पहिला आइसक्नुपर्ने थियो। ओभरल शिक्षालाई हेर्ने एउटा कानुन धेरै पहिला आइसक्नुपर्ने थियो, त्यसमा हामी चुक्यौँ । थापाले भने‚ ‘म एउटा ल मेकर्स भएर काम गर्दा त्यो प्रथम दृष्टिमा हेर्दा नै सयौँ त्रुटी छन् । यो विधेयकमा संशोधन हाल्न सुरु भएपछि मैले मात्रै हाल्ने संशोधन मैले सरसर्ती हेर्दै गर्दा ७० भन्दा बढी रहेछन् । भनेपछि कति त्रुटी रहेछन् ? यसको यावत त्रुटीहरू छन् । अहिले बनाउने कानुनले आजको समस्या मात्र होइन, कम्तिमा २० वर्षसम्म हेर्नसक्ने गरेर कानुन बन्नुपर्छ। नेपालको शिक्षा क्षेत्र सुधार गर्ने हो भने नेपालमा सबैभन्दा धेरै पे हुने जब शिक्षण पेशा हुनुपर्छ।’

महामन्त्री थापाले सरकार शिक्षकबीचको वार्ताले सकारात्मक रुप लिने विश्वास लिएको पनि बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.