काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रस्तावित शिक्षा विधेयक संशोधनदेखि वर्तमान सरकारको भूमिकाको विषयमा छलफल भएको छ।
बिहीबारबाट सुरु भएको बैठकको दोस्रो दिन शुक्रबार बोल्ने केन्द्रीय सदस्यहरूले शिक्षकहरूका माग सम्बोधन गर्न कांग्रेसले खेल्नुपर्ने भूमिका र वर्तमान सरकारको कामको विषयमा छलफल गरेका हुन्।
बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले शिक्षा विधेयक संशोधन गरेर शिक्षकको माग पूरा गर्नुपर्ने बताएका थिए भने केहीले वर्तमान सरकारको भूमिकामाथि प्रश्न उठाएका थिए।
केही केन्द्रीय सदस्यले पार्टीभित्रको गुट उपगुटले पार्टीलाई कमजोर बनाउँदै लगेको टिप्पणी गरे।
बैठकमा कसले के भने ?
केन्द्रीय समिति बैठकमा सरकार जोगाउने कि भत्काउने भन्ने विषयमा कांग्रेसको आधिकारिक धारणा माग गरिएको छ।
बैठकमा बोल्दै केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले वर्तमान सरकार जोगाउने कि भत्काउने भन्ने विषयमा कांग्रेसको आधिकारिक धारणा माग गरेकी हुन्। पार्टीको आधिकारिक धारणा नआउँदा फरक धारणा गएको भन्दै उनले पार्टीको धारणा माग गरिन्।
‘अहिलेको सरकार जोगाउने कि भत्काउने भन्ने विषयमा पार्टीको आधिकारिक धारणा आओस्। गठबन्धन बनाउने कि भत्काउने भन्ने विषयमा सबैको एउटै धारणा जान सकोस्’, उनले भनिन्।
अर्का केन्द्रीय सदस्य गुरु बरालले पार्टी सहमहामन्त्रीलाई खकुरी प्रहार हुँदा समेत सरकार निरीह बनेको बताए।
उनले भने, ‘हाम्रो पार्टी यो सरकारमा छ। कांग्रेसको नेतृत्वमा यो सरकार बनेको हो। अहिलेको अवस्था जर्जरको छ। यसलाई कसरी सुधार्ने ? शान्ति सुरक्षाको कुरा गर्दा हाम्रा सहमहामन्त्रीमाथि खुकुरी प्रहार भएको छ। यस्तो अवस्थामा सरकार निरीह छ। यस्तो घटना भोलि हाम्रा अरू साथीलाई पनि पर्नसक्छ। सरकारले तुरुन्त सुरक्षाको प्रत्याभूति दिनुपर्यो। नेताहरूलाई त सुरक्षा छैन‚ हाम्रो के सुरक्षा छ भन्ने प्रश्न उठेको छ जनतामा ?’
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले निरन्तर संसद् अवरोध हुँदा संसदीय पद्धतिलाई नै कमजोर पार्ने बताए।
केन्द्रीय समितिको बैठकमा संसदीय दलका तर्फबाट ब्रिफिङ गराउँदै प्रमुख सचेतक समेत रहेका लेखकले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अधैर्य भएको टिप्पणी गरे। उनले भने, ‘संसद्मा प्रमुख प्रतिपक्ष दल अधैर्य र आक्रामक छ भनेर यसअघिको बैठकमा पनि भनेको थिएँ। अहिले पनि त्यो यथावत् छ। अहिलेसम्म ६‚ ७ वटा विषयलाई लिएर बैठक निरन्तर अवरोध हुँदै आइरहेको छ तर हामीले सहमतिबाट अगाडि बढाइरहेका छौं।’
एमालेले निरन्तर संसद् बैठकलाई अवरोध गर्दै संसदीय पद्धति असर गर्ने भएकाले पार्टीका तर्फबाट औपचारिक निर्णय गरेर बोल्नुपर्ने बताए।
सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्ने सहमति भए पनि प्रक्रिया अघि नबढेकाले सरकारले त्यसलाई पहल गर्न आग्रह गरे।
कांग्रेसकी केन्द्रीय सदस्यले ईश्वरी न्यौपाने नयाँ दलहरूलाई फेसबुके पार्टीको रूपमा टिप्पणी गरिन्। उनले काँग्रेसमाथि ठूलो चुनौती आइसकेकाले अब जनताको समस्या बोल्नुपर्ने बताइन्।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सरकारले भुटानी शरणार्थी प्रकरणको छानबिनमा अग्रसरता लिए पनि आफ्ना पार्टीको नाम जोडिएका प्रकरणमा छानबिन नगरेको आरोप लगाए। उनले माओवादीले सुन प्रकरणमा जोडिएका महरालाई छानबिन नगरेको बताए।
उनले भने, ‘शरणार्थी प्रकरणमा सरकार र गृह मन्त्रालयले जुन तदारुकता देखायो। आफ्नो दलका नेताहरू सहभागी भएको देखिएपछि माओवादीले अनेक बहानामा कृष्णबहादुर महरामाथि छानबिन गरेन।’
नेता शिवाकोटीले समूहको नाममा पार्टी सभापतिले देखाएको व्यवहारले पार्टीलाई नै खोक्रो बनाउने समेत टिप्पणी गरे। उनले पार्टी अनुशासन समितिको निर्णयमा समेत प्रश्न उठाए।
दिलेन्द्र बडुले पेशागत सुरक्षा नभएर शिक्षकहरू आन्दोलनमा उत्रिएको भन्दै शिक्षकको पेशागत सुरक्षाका लागि कांग्रेसले पहल गर्नुपर्नेमा जोड दिए। शारदा पौडेलले शिक्षक आन्दोलनको समस्या समाधान गर्न माग गरिन्। दिलमान पाख्रिनले कोशी प्रदेशको नामले जातीयता भड्काउने भएकाले कांग्रेसको आधिकारिक धारणा माग गरे।
यज्ञराज जोशीले संविधान संशोधन गरेर समानुपातिक र समावेशी व्यवस्था हटाउनुपर्ने बताए। समानुपातिक निर्वाचन प्रणाली नहटाएसम्म भएसम्म कसैको बहुमत नहुने भएकाले गठबन्धन नभई नहुने स्थिति रहने उनको भनाइ थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।