|

काठमाडौँ : सरकारले चाडपर्वमा यातायात व्यवस्था प्रभावकारी बनाउन यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा चाडपर्व यातायात सहजीकरण समिति बनाएको छ। 

शुक्रवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरोकारवाला निकायहरूसँग छलफल गरी दशैँ–तिहार र छठ पर्व लक्षित यातायात व्यवस्था प्रभावकारी बनाउनको लागि चाडपर्व यातायात सहजीकरण समिति गठन गरेका हुन्।

उनले यो वर्षको दशैँ–तिहार र छठ पर्वमा गाउँ फर्कने र गाउँबाट शहर आउने यात्रुका लागि यातायातका सवारीसाधन, सडक तथा ट्राफिक व्यवस्था सहजीकरण गर्ने काम समितिले गर्नुपर्ने बताए। 

मन्त्री ज्वालाले दशैँ–तिहार र छठ पर्व लक्षित यातायात व्यवस्थापनमा पर्याप्त सवारीसाधन, यात्रुलाई टिकटको उपलब्धतालगायतका विषयमा केन्द्रित रहेर काम गर्न निर्देशन दिए।

उनले समितिमा यातायात व्यवसायी, ट्राफिक प्रहरी, नेपाल प्रहरी, प्रदेश सरकारको प्रतिनिधि, महानगर, उपभोक्ताकर्मी र सडक विभागको समेत प्रतिनिधित्व रहने बताए। उनले समितिले यो वर्षको चाडपर्वमा व्यवस्थित र सुरक्षित यातायात सेवा बनाउने गरी काम गर्न निर्देशन दिए। 

बैठकमा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले यो वर्षको चाडपर्वमा एकजना नेपाली नागरिकले सवारी साधनको अभावमा गाउँघरमा पुगेर टीका लगाउन पाइन भन्ने वातावरण व्यवसायीहरूले नबनाउने प्रतिबद्धता जनाए।

सधैँ चाडपर्वमा सवारीसाधनको भाडा वृद्धि गरेर कमाउन मात्रै लाग्ने भन्ने विषय अन्त्य गर्न आवश्यक रहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.