|

काठमाडौँ : एसियाली विकास बैंक (एडिबी)ले ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै सन् २०२३ को तुलनामा सन् २०२४ मा नेपालको अर्थतन्त्र सुधार हुने जनाएको छ।

एडिबीले यही बुधबार ‘एसियन डेभलपमेन्ट आउटलुक, सेप्टेम्बर २०२३’ प्रतिवेदन सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर सन् २०२३ मा एक दशमलव नौ र सन् २०२४ मा चार दशमलव तीन प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ। उत्पादन तथा निर्माण क्षेत्रमा यस वर्षको तुलनामा आगामी वर्ष उल्लेख्य सुधार देखिने एडिबीको अनुमान छ।

आज सार्वजनिक भएको ‘नेपाल माइक्रो इकोनोमिक अपडेट’ अनुसार नेपालको कृषि क्षेत्रमा सन् २०२२ मा दुई दशमलव दुई प्रतिशतको वृद्धिदर देखिएकोमा सन् २०२३ मा दुई दशमलव सात प्रतिशत पुग्ने अनुमान गरिएको छ।

त्यस्तै, यस वर्ष उद्योग क्षेत्रको वृद्धिदर शून्य दशमलव छ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ। जबकि, सन् २०२२ मा यो क्षेत्रको वृद्धिदर १० दशमलव आठ प्रतिशत रहेको थियो। उच्च ब्याजदर र आयातमा प्रतिबन्ध लगाइनुलाई यस वर्ष उद्योग क्षेत्रको वृद्धिदर घट्नुको मुख्य कारण ठानिएको छ।

सेवा क्षेत्रको विस्तार सन् २०२२ मा पाँच दशमलव तीन प्रतिशत रहेकोमा यसवर्ष आधा बराबर मात्रै रहने अनुमान एडिबीको छ। सन् २०२३ मा सेवा क्षेत्रमा दुई दशमलव तीन प्रतिशतको वृद्धि देखिने अनुमान गरिएको छ। 

यस वर्ष सेवा क्षेत्रको वृद्धिदर घट्नुमा खुद्रा तथा होलसेल व्यापार र यातायात क्षेत्रमा कमी आएको कारण देखाइएको छ। उपभोगमा हुने खर्च गत वर्ष छ दशमलव आठ प्रतिशतको वृद्धि रहेकोमा यस वर्ष खुम्चिएर चार दशमलव एक प्रतिशतको मात्रै वृद्धि देखिने अनुमान एडिबीको रहेको छ।
     
एडिबीका अनुसार यस वर्ष नेपालको स्थिर लगानी १० दशमलव नौ प्रतिशतले घटेको छ। जबकि, गत वर्ष तीन दशमलव आठ प्रतिशतले विस्तार भएको थियो। 

निजी लगानी सात दशमलव छ प्रतिशत र सार्वजनिक लगानी २० दशमलव दुई प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ। जसकारण, कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा तीन दशमलव नौ प्रतिशत विन्दुको गिरावट देखिएको एडिबीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.