दाङ : दंगीशरण गाउँपालिका ५ पोटलिका कालुराम चौधरीले घर अगाडि ७ कठ्ठामा धान खेती गरेका छन्। करिब २ हप्ता अघि थोरै धान सुक्न सुरु गर्यो। उनले थान सुक्न थालेपछि गाउँपालिकाको कृषि कार्यालयमा सम्पर्क गरे। त्यसपछि उनले फड्के कीराको औषधि प्रयोग गरे। तर, त्यो कीरा नियन्त्रण भएन, बरु दिनप्रतिदिन धान सुक्दै गएपछि उनी चिन्तित बनेका छन्।
उनले भने,‘गाउँमा सुरूमा मेरो खेतमा नै यस्तो देखियो। घर नजिकै ७ कठ्ठामा लगाएको धान पुरै सुक्न लागेको छ। अन्य ठाउँमा गरी २ बिगाहामा पनि यही धान लगाएको छु। त्यहाँ पनि यस्तै समस्या रहेको छ। अन्य धानमा भन्दा मैले एमपी ३०–३० नामक धान लगाएको हुँदा त्यसमा यस्तै समस्या देखिएको छ। ’
धान भर्खरै पसाउन लागेको र कोट सुक्दै गएको समेत उनको भनाइ छ। उनका अनुसार गत वर्ष यस्तो समस्या नभएको भए यता पनि यस पटक देखिएको छ। धान यसरी सुक्दै गएमा सोच जस्तो उत्पादन नहुने समेत उनको भनाइ छ।
सोही ठाउँका धन बहादुर वलीको पनि करिब २१ कठ्ठा खेतमा लगाएको धान सुक्दै गएको छ। उनले पनि यो धानमा समस्या देखिएको र अन्य धानमा कुनै समस्या भएको बताए धान सुक्दै गएपछि गाउँपालिकालाई जानकारी गराएको भए यता पनि कुनै सहयोग नपाएको उनले गुनासो गरे।
उनले भने,‘धानमा समस्या देखिएपछि सहयोगको लागि गाउँपालिकामा भन्दा बजेट छैन, भने जवाफ आयो। मैले १८ सय औषधि किनेर प्रयोग गरे, तर त्यो काम लागेन। नेताहरू चुनावको बेला मात्र किसानको लागि यो गर्छौ, भन्ने चुनाव जितेपछि किसानहरू समस्यामा नहेर्ने ? हामी सहयोगको लागि कहाँ जाने ?’
उनका अनुसार यस्तो समस्या गाउँभरी नै देखिएको छ। जसले गर्दा किसानहरू धेरै चिन्तित भएको छन्। वर्षदेखि खाने खेती भएको भन्दै धान सुक्दै गएपछि ६ महिना खानको लागि पनि उत्पादन हुने अवस्था नरहेको उनको भनाइ छ।
यस्तै राप्ती गाउँपालिकामा पनि पड्क कीराको प्रकोप रहेको छ। गाउँपालिका ५ का किसान मदन पोख्रेलले करिब ८ कठ्ठामा लगाएको धान कीरा कारण पुरै नष्ट भएको छ। कीरा मार्नको लागि औषधि प्रयोग गरेको भएयता पनि धान पुरै नष्ट भएको उनको भनाइ छ।
अहिले उनको धान आधा भन्दा बढि कीरा कारण सुकेर पराल भएको छ। सुरूमा यो समस्या थोरै ठाउँमा देखिएको थियो। तर, उनले गाउँपालिकाबाट कृषि प्राविधिकहरू बोलाएर समस्या देखाएका थिए। प्राविधिकहरूले केही औषधि दिएपछि उनले त्यो औषधि धानमा धर्केका थिए। तर, कीराले अहिले आधा भन्दा बढि पसाउन लागेको धानलाई सुकाएर पराल बनाएको उनको भनाइ छ।
उनले भने,‘प्राविधिकहरूले सुरूमा दिएको औषधिले काम नगरेपछि मलाई फेरि अर्को औषधि दिनुभयो। त्यो पनि प्रयोग गरे। त्यसले पनि काम गरेन। फेरि अर्को औषधि दिनुभयो, त्यो पनि प्रयोग गर्दा कुनै काम गरेन। अहिले आधा धान सुकेर पराल भएको छ। यस वर्षको धान खेती शून्य नै भयो।’ धानको पात पहेँलो हुँदै गयो। सुरुमा एक दुई वटा बोटबाट सुरु भएको रोग कीराको प्रकोप पछि खेतै भरी फैलियो। धान पसाउने बेलामा खेत भरीको धान पहेँलो भएर सुकेर जाने गरेको छ।
जिल्लामा फड्के कीरा र गवारोको प्रकोप
कृषि ज्ञान केन्द्र दाङमा अनुसार जिल्लामा फड्के कीरा र गवारोको प्रकोप देखिएको देखिएको छ। अहिले राप्ती गाउँपालिका र दंगीशरण गाउँपालिकामा यो समस्या देखिएको केन्द्रका कृषि अर्थ विज्ञ पृथ्वीराज लामिछाने बताए। उनका अनुसार खेतमा धेरै पानी जमेको भएकामा वा काँचो गोबर प्रयोग गरेको खण्डमा, धान बाक्लो रोपेमा यो कीराले आक्रमण गर्ने गर्दछ।
यो कीराले धान रोपेको सुरुवाती अवस्थामा भेटाएमा धेरै नोक्सानी गर्ने भन्दै उनले धान फसाएर बालामा दूध मस्केको खण्डमा भेटाएमा त्यति क्षति नगर्ने समेत बताए। जिल्लामा ४-५ वर्ष अगाडि देखिएको भएयता पनि यस वर्ष फेरि यो कीरा देखिएको भन्दै उनले धान रोप्दा पातलो रोप्नु पर्ने र खेतमा कहिलेकाहीँ सुख्खा रोप्नु पर्ने र काँचो गोबर प्रयोग गर्न नहुने समेत बताए।
उनका अनुसार कुनै एक छिमेकीको धानमा यस्तो कीरा देखिएमा अर्को छिमेकीमा सर्ने सम्भावना कम हुन्छ। एउटै ठाउँमा पनि जहाँ पानी जमेको छ, त्यहाँ धेरै आक्रमण गर्ने र जहाँ पानी जमेको हुँदैन, त्यहाँ यो कीराले आक्रमण गर्ने भएकाले अरु भाइरल रोग जस्तो नसर्ने उनको भनाइ छ।
यस्तै उनले राप्ती गाउँपालिकामा फड्क कीरा प्रकोप देखिएपछि आफूहरू त्यहाँ गएर अनुगमन गरेको र त्यहाँ कीराको आक्रमण गर्ने सुरुवाती अवस्था रहेको र धान पाक्न लागेको अवस्था भेटिएको हुँदा त्यहाँ धेरै क्षति हुनबाट जोगिएको समेत बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।