पर्वत : जिल्लाको पैयुँ गाउँपालिका–४ मा रहेर करिब २० वर्षदेखि बन्द रहेको मिसन अस्पताल सञ्चालनको प्रयास सुरु भएको छ।
अमेरिकी सहयोगमा करिब २०५० सालमा सञ्चालनमा ल्याइएको अस्पताल द्वन्द्वकालको समयमा बन्द भएको थियो। पर्वतको दक्षिणी रहेको उक्त अस्पतालबाट पर्वतसहित छिमेकी जिल्लाहरूका बिरामीहरूलाई समेत सेवा दिने गरी सञ्चालन भएको भए पनि द्वन्द्वकालको समयमा चिकित्सक बस्न नसक्ने लगायतका समस्याहरू आएपछि अस्पताल बन्द भएको थियो।
करिब ८÷१० वर्षसम्म चलेको अस्पतालले स्थानीयलाई निकै सहज बनाएको भए पनि अस्पताल बन्द भएपछि त्यहाँका नागरिकहरू सदरमुकाम कुश्मा बजारसहित पोखरा र स्याङ्जाको वालिङ लगायतका ठाउँमा जान बाध्य छन्। अस्पताल बन्द हुँदा भौतिक संरचना समेत लामो समयदेखि अलपत्र परेपछि सामाजिक सेवामा सक्रिय हुँदै आएको ‘देउराली फाउन्डेसन’ ले अस्पताल सञ्चालनको प्रयास थालेको हो।
फाउन्डेसनको तर्फबाट केही दिन अगाडि हुवासमा पुगेको टोलीले त्यहाँको वस्तुस्थितिको बरेमा अध्ययन गरेर फर्किएको छ। अस्पताल सञ्चालनको लागि गाउँपालिका सहित स्थानीय नागरिकले पनि चासो देखाएपछि अस्पताल सञ्चालनको प्रयास सुरु गरिएको फाउन्डेसनका अध्यक्ष भीम घिमिरेले बताए। हाल अमेरिकामा रहेका नन रेसिडेन्ट नेपाली एसोसिएसनका अध्यक्ष तथा देउराली फाउन्डेसनका संस्थापक माधव मरासिनी सहित अमेरिकामै रहेका नेपाली र अमेरिकाकै स्वयंसेवक लगायतले पनि अस्पताल सञ्चालनको लागि सक्रियता देखाएपछि अस्पताल खुलाउने तयारी भइरहेको छ।
‘करिब सात रोपनी क्षेत्रफलको सुन्दर थुम्कोमा अस्पतालको भवन रहेछ। अझै पनि केही नभएका दुई वटा भवन, पुराना फर्निचर र बन्दोबस्तका सामानहरू रहेछन्। अस्पतालसँग स्थानीयका सुन्दर सम्झनाहरू सुन्दा भावुक बनायो’, उनले भने, ‘यो अस्पताल जसरी पनि पुन सञ्चालन गर्ने उपायको खोजीमा हामी छौँ। यसको सुरुवात स्वास्थ्य शिविरबाट गर्ने भन्ने सल्लाह भएको छ।’
अस्पताल सञ्चालनको लागि सहज बनाउन तत्कालै तार वार र भवन रङ रोगनको काम गर्ने र त्यसपछि स्वास्थ्य शिविरको आयोजना गर्ने तयारी छ। अस्पतालमा भौतिक सुधारका लागि फाउन्डेसनले श्रम शिविर आयोजना गरेको छ। अस्पताल परिसर सरसफाइ, तरबार र भवनहरूमा रंगरोगन गर्न तथा अस्पतालप्रति स्थानीयको चासोको अवस्थाका बारेमा अध्ययन गर्नको लागि पनि श्रम शिविरको आयोजना गरिएको घिमिरे बताउँछन्। असोज ११ गतेबाट अस्पतालको काम सम्पन्न नहुन्जेल सम्मका लागि श्रम शिविर जारी रहने छ। उक्त अवधिमा फाउन्डेसनको तर्फबाट गर्नुपर्ने कामहरू हुनेछन् भने स्थानीयले पनि सक्रियता देखाउन वा आफ्नो ठाउँको अस्पताल सञ्चालनार्थ श्रमदान गर्न पाउने छन्।
नन रेसिडेन्ट नेपाली एसोसिएसनका अध्यक्ष तथा देउराली फाउन्डेसनका संस्थापक मरासिनीले तत्कालका लागि शिविरबाट अस्पतालको काम थालिए पनि केही समयभित्रमा नै अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध हुने गरी सञ्चालनको तयारी भइरहेको बताउँछन्। अमेरिकामा रहेका नेपालीहरू सहित त्यहाँ कार्यरत र अध्ययनरत नेपाली चिकित्सकसहित नेपालमा रहेका विशेषज्ञ चिकित्सकहरूसँग पनि यस बारेमा कुराकानी भइरहेको उनको भनाइ छ।
‘उपचारको लागि कोही पनि बाहिर जान नपरोस् भन्नका लागि त्यहाँ रहेको भौतिक संरचनालाई सदुपयोग गर्दै स्वयंसेवी रूपमा अस्पताल सञ्चालनको योजना बनाएका छौँ। क्यान्सरसहित अन्य रोगको पनि विशेषज्ञ सेवा दिन सक्छौँ भन्ने अठोटका साथ लागेका छौँ’, मरासिनी भन्छन्, ‘त्यहाँका स्थानीय पनि अस्पताल खुल्ने कुरा सुनेर खुसी हुनुभएको छ। सदरमुकामबाट टाढा रहेको उक्त ठाउँले आसपासका जिल्लाका बिरामीहरूलाई पनि सेवा दिन सक्छ।’
पैयुँ गाउँपालिकाका निवर्तमान अध्यक्ष खगेन्द्रप्रसाद तिवारीका अनुसार कोभिड–१९ को महामारीको बेलामा उक्त अस्पताललाई गाउँपालिकाले सञ्चालन गर्ने प्रयास गरिएको थियो। तर अस्पताललाई अहिले रहेकै स्थानमा राख्ने की अन्यत्रै सार्ने भन्ने विषयमा अल्झिएपछि गाउँपालिकाको प्रयास सफल हुन सकेन। त्यस बाहेक अस्पताल नै सञ्चालन गर्नको लागि आवश्यक पर्ने बजेट गाउँपालिकामा नहुने भएपछि फेरि बन्द हुन सक्ने जोखिमका कारण पनि गाउँपालिकाले सञ्चालन गर्न नसकेको उनको भनाई छ।
नन रेसिडेन्ट नेपाली एसोसिएसन सहित नेपालकै चिकित्सकहरूले मन, वचन र कर्मले सहयोग गर्ने अवस्थामा अस्पताल सञ्चालन गर्न सम्भव रहेको र त्यसका लागि गाउँपालिका पनि सहकार्यका लागि तयार रहेको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरी (राज) बताउँछन्। उक्त अस्पताल सञ्चालनमा आई विशेषज्ञ सेवा प्रदान गर्न सकेमा उपचारको लागि बाहिरी जिल्लामा पुग्नुपर्ने दक्षिण पर्वतका नागरिकको बाध्यता हट्ने उनको भनाइ छ।
अमेरिकी सहयोगमा बनेपामा रहेको नेपाल आड्रा नामक संस्थाको सहयोगमा भवन निर्माण हुने र अमेरिकी चिकित्सकहरूले स्वास्थ्य सेवा दिने भनेपछि आफूहरूले निःशुल्क जग्गा उपलब्ध गराएर अस्पताल सुरु गराएको स्थानीय समाजसेवी गिरीराज गौतमले बताए।
त्यो बेलामा परिवारसहित आएर बसेका चिकित्सकसँग माओवादी पक्षले चन्दा माग्ने र धम्की दिने गरेपछि अमेरिकी सरकारको निर्देशनमा उनीहरू फिर्ता भएपछि अस्पताल बन्द भएको उनले सुनाए।
‘यहीँका जनशक्ति समेत नियुक्त गरिएको थियो। अमेरिकाको डक्टरको परिवार नै बसेको थियो। चन्दा मागेपछि अमेरिकी सरकारले उनीहरूलाई नेपालको रिमोट एरियामा नबस्न भनेर फिर्ता गरायो। पछि अर्को डक्टरको परिवार आयो उसको पनि हालत त्यही भयो’, उनले भने, ‘महाशिलाको लुँखुमा राख्ने की पैयुँमा राख्ने भन्ने बहसकाबीच उमा रेग्मी र मेरो पहलमा यहाँ अस्पताल आएको हो। अहिले आएको टोलीले खुलाउने हो भने यहाँका लागि खुसीको कुरा हो।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।