|

पर्वत : कास्कीको पोखरा महानगरपालिका–११ फूलबारीमा रहेको मणिपाल शिक्षण अस्पतालमा होहल्ला गरेको भन्दै  पक्राउ परेका डा. दिनेश कुमार विक रिहा भएका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विक का अनुसार गत आइतबार लमजुङको सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीय सुकमाया दुरालाई श्वासप्रश्वास तथा ढाड दुख्ने समस्या सम्बन्धी बिरामी भई मणिपाल शिक्षण अस्पताल ल्याइएको थियो।

उपचारको क्रममा सोमबार करिब एक बजेको समयमा उनको मृत्यु भएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकका आफन्तहरूले उपचारमा चिकित्सकको लापरबाहीका कारण दुराको मृत्यु भएको र मृत्युको कारण खुलाउनु पर्ने माग राखी आन्दोलन भएको थियो। त्यस क्रममा मृतक पक्ष र चिकित्सक पक्ष बिच विवाद सृजना भई होहल्ला सहित नाराबाजी भएको थियो। साँझ करिब सात बजेबाट मृतक र चिकित्सक दुबैका तर्फबाट अस्पतालका सिसाहरू तोडफोड भई अस्पताल समेत तोडफोड हुन लागेको थियो।

स्थितिलाई नियन्त्रणमा लिई अस्पतालमा थप कुनै क्षति नहोस भन्नको लागि मृतकको उपचारमा संलग्न रहेका चिकित्सकलाई कुटपिटमा संलग्न पोखरा महानगरपालिका–५ मालेपाटन बस्ने ३४ वर्षीय विनय गुरुङलाई नियन्त्रणमा लिइएको थियो।

सोही क्रममा चिकित्सकको पक्षबाट होहल्ला तथा नाराबाजीमा संलग्न डा. वि.क.लाई समेत प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको थियो। उनलाई मङ्गलवार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर डा. मीन बहादुर गुरुङको रोहबरमा डा. गिरधारी शर्माको जिम्मा लगाई छाडिएको र उनको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक विकले बताए।

मालेपाटनका गुरुङलाई भने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्तजन आक्रोशित बनेका थिए। उनीहरूले उपचारका क्रममा बिरामीको अवस्थाबारे कुनै जानकारी नदिइएको र अस्पतालकै लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्। उपचारमा संलग्न चिकित्सकमाथि नै हातपात हुन थालेपछि प्रहरीले मृतकको र चिकित्सक दुवै पक्षका व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.